असोज ३० गते २०८३ || October 16, 2026

देशकै प्रमुख पर्यटकीय सहर पोखराको विमानस्थल आज उद्घाटन गरिँदै


पिपल अनलाइन
आइतबार, पुस १७ २०७९०७:२६

देशकै प्रमुख पर्यटकीय सहर पोखराको विमानस्थल आज उद्घाटन गरिँदै

काठमाण्डौँ- देशकै प्रमुख पर्यटकीय सहर पोखराका स्थानीयको पाँच दशकदेखिको सपना साकार भएको छ । पोखरामा निर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटनसँगै ५० वर्षदेखिको सपना पूरा हुने भएको हो ।

सरकारले आज अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ प्रारम्भको अवसर पारेर विमानस्थल सञ्चालनमा ल्याउँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहबीच विमानस्थल उद्घाटन गर्दै छन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमका अनुसार आइतबार बिहान ११ बजे प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेता, उद्योगी तथा पर्यटन व्यवसायीलगायतको बृहत् सहभागितामा विमानस्थल उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पोखरा महानगरपालिकाले यही खुसियालीमा आइतबार सार्वजनिक बिदासमेत दिएको छ ।

 उद्घाटन समारोहमा नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत पर्यटनसँग सम्बन्धित सङ्घ संस्थासम्बद्धको सहभागिता रहनेछ ।” आइतबार बिहान विमानस्थलमा अवतरण हुने पहिलो जहाजका चालक दल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने उनले बताए । ।

विमानस्थल सञ्चालन भएकै दिन अन्तर्राष्ट्रिय उडान गर्ने तयारी भए पनि अनुमति प्रक्रिया पूरा नहुँदा आइतबार आन्तरिक उडानबाट विमानस्थल उद्घाटन हुन लागेको हो । विमानस्थल उद्घाटनसँगै पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को समन्वयमा विभिन्न जातजातिका मौलिक झाँकी प्रदर्शन, विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलगायतलाई रथारोहणसहित अभिनन्दन गरिनेछ । 


  • सम्बन्धित विषय:

  • # देशकै प्रमुख पर्यटकीय सहर पोखराको विमानस्थल आज उद्घाटन गरिँदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend