असोज ३० गते २०८३ || October 16, 2026

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाको सन्देश


बुधबार, पुस १६ २०८२१०:५०

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाको सन्देश

राष्ट्रिय मेलमिलाप दिवसको सन्देश

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु,
लोकतान्त्रिक आन्दोलनका हाम्रा श्रद्धेय नेता विपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरु आजकै दिन “राष्ट्रिय मेलमिलापको” सन्देश दिएर आठ वर्ष भारतको प्रवास जीवन त्यागी नेपाल फर्कनु भएको थियो ।
त्यस समयमा विश्वमा देखिएको महाशक्ति राष्ट्रहरुको द्धन्द्ध र खिचातानीवाट नेपाल जस्तो सानो र अत्यन्त संवेदनशिल भूःराजनीतिक स्थितिमा रहेको देशको राष्ट्रियता र स्वतन्त्रता अक्षुण्य राख्न राष्ट्रिय एकता र मेलमिलापको विकल्प नभएको विपीको सन्देश थियो । 
आज पाँच दशक पछि फेरी विश्वमा महाशक्ति राष्ट्रहरुको दवाव र स्वार्थहरु अगाडि आएको हामी अनुभव गर्दैछाँै । यस परिस्थितिमा हामीले हाम्रा श्रद्धेय नेता विपीको विचारलाई फेरी एकपटक मन, बचन र कर्मले मनन गर्नुपरेको छ । 


राष्ट्रिय मेलमिलापको सान्दर्भिकता र महत्व आज कांग्रेस एक्लैको विषय नभएको प्रष्ट छ । राष्ट्रिय एकता र मेलमिलापको लागि आज सत्ता राजनीति भन्दा माथी सार्वभौम सम्पुर्ण नेपालीहरुको जागरुक सतर्कता सहित ऐक्यवद्धताको खाँचो रहेको छ ।
राष्ट्रिय एकता र मेलमिलापले मात्र हामीले हाम्रो देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षा गर्न सक्छौँ भनी विपी सन्देशको मर्मलाई आज यो देशको सोच, उद्धेश्य र साझा प्रतिवद्धता बनाउने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा छ ।   
जसरी विपीले सम्भावित व्यक्तिगत खतरा र राष्ट्रको अस्तित्वको खतरा सामु नगण्य भन्ठानेर ऐतिहाँसिक निर्णय लिएर प्रवासवाट स्वदेश फर्कनु भएको थियो, आज लोकतन्त्रको रक्षार्थ र भावी युवा पुस्तालाई शान्ति र समृद्धीको गोरेटो कोरेको नेपाल हस्तान्तरण गर्न हामीले हाम्रा अप्रिय विवाद, मतभिन्नता र व्यक्तिगत महत्वाकांक्षालाई समाप्त गरेर भावी राष्ट्रिय निर्वाचनमा होमीनुको बिकल्प छैन । 
कांग्रेस भित्रको एकता र मेलमिलाप राष्ट्रिय एकता र मेलमिलापको प्रथम खुडकिलो मात्र होइन राष्ट्रको आवश्यक तत्व हो भनी हामी सवैले मनन गर्न जरुरी छ । वर्तमान राजनीतिक परिस्थितिमा हामीलाई जनताले विश्वास र भरोसा गरे मात्र हाम्रो सान्दर्भिकता देशमा रहने हो, यो गम्भिर तथ्यमा चुक्यौँ भने हामी भूमिका बिहिन हुने खतरा रहन्छ ।


राजनीतिक परिदृष्यमा उदाएका नयाँ चुनौतिहरुको सामना गर्न हामीसँग सम्पुर्ण एकताको विकल्प छैन । 
नेपाली कांग्रेसले राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका खेल्न संभव छ । यसको लागि विपी कोइरालाको मेलमिलाप नीतिले हामीलाई मार्गनिर्देशन गर्दछ भनी हामी सवैले आत्मसात गरौं। जय नेपाल ।  


डा. शेखर कोइराला




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend