राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा पेश गरेको बन्दसूचीमा भएका कमीकमजोरीहरू सच्याउने तत्पर भएको छ । पार्टीले समिक्षा गरेर निर्वाचन आयोगले दिएको समयावधिभित्र आवश्यक संशोधन गरिने भएको छ ।
रास्वपाले उम्मेदवारहरु प्राइमरी इलेक्सनबाट छनोट गरेको थियो । तर, अन्तिम समयमा बालेन्द्र साह र कुलमान घिसिङसँग एकता गर्दा प्राइमरी इलेक्सनको नतिजा पूर्ण कार्यान्वयन हुन सकेको थिएन । बालेन्द्रको तर्फबाट करिब ३ दर्जन र कुलमानको तर्फबाट १४ जना उनीहरूको व्यक्तिगत तजबिजमा छनोट भएका छन् । साथै, रास्वपाले आफ्नो तर्फबाट ६० जना उम्मेदवारको छनोट गर्दा पनि प्राइमरी इलेक्सनको नतिजालाई न्याय दिन सकेन ।
यस विषयमा सामाजिक सञ्जालमा व्यापक टीकाटिप्पणी भएपछि रास्वपाले गम्भीर रूपमा लिएको हो । पार्टीका नेता गणेश पराजुली जनगुनासो सम्बोधन गर्न पार्टीले कन्जुस्याइँ नगर्ने बताएका छन् ।
उनले भने, ‘निर्वाचन आयोगले नै सबै पार्टीलाई बन्दसुची सच्याउनका लागि समय तोकेको छ । कुनै पनि त्रुटि र कमी-कमजोरीहरू भेटिएमा २० गतेसम्म सच्याउन सकिन्छ । सच्याउन हामी तयार छौँ ।’
सुचीमा गर्ने संशोधनका विषयहरूबारे हामी छलफलकै क्रममा छौँ । सूची बनाउँदा एकदमै हतारमा गर्नुपरेकाले केही नामहरुबारे रुजू गर्न सकिएको थिएन । यसमा बालेनजी र कुलमानजी पनि ओपन नै हुनुहुन्छ । आएका गुनासोहरुको पनि सम्बोधन हुने गरी छलफलबाटै टुंग्याउनेछौं पराजुलीको भनाइ छ।