पूर्वराजा ज्ञानेन्द्र शाहले मोरङको विराटनगरस्थित प्रसिद्ध काली मन्दिरमा पुगेर पूजा अर्चना गर्नुभएको छ । केही दिनदेखि झापाको दमकमा रहँदै आनुभएका शाह शनिबार बिहानै विराटनगर पुगेर मन्दिरको दर्शन गर्नुभएको हो ।
पूर्वराजा शाह मन्दिर पुग्दा काली मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष मीनाक्षी नेपाल लगायतका पदाधिकारीहरूले उहाँलाई स्वागत गर्नुभएको थियो । मन्दिर परिसरमा पूर्वराजाको दर्शनका लागि समर्थक र सर्वसाधारणको ठुलो भिड लागेको थियो । सो क्रममा उपस्थित मानिसहरूले ‘जय श्री राम’ र ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ जस्ता नाराहरू लगाएका थिए ।
मन्दिर प्रवेश गरेपछि पूर्वराजा शाहले विधिपूर्वक पूजा अर्चना गर्नुभएको थियो । पुरोहितहरूले स्वस्तिवाचन र मन्त्रोच्चारणका साथ उहाँलाई पूजामा सहभागी गराएका थिए । करिब आधा घण्टासम्म मन्दिरमा बिताउनु भएका शाहले आरतीमा समेत सहभागी भएर टीका र प्रसाद ग्रहण गर्नुभएको थियो ।
पूजा सकिएपछि पूर्वराजा शाहले मन्दिरको व्यवस्थापन र पछिल्लो अवस्थाका बारेमा व्यवस्थापन समितिकी अध्यक्ष मीनाक्षी नेपालसँग संक्षिप्त कुराकानी गर्नुभएको थियो । मन्दिरको दर्शन र पूजाका लागि दमकबाट विशेष सवारीमा विराटनगर आउनुभएका उहाँ दर्शन पश्चात् पुनः दमकतर्फ नै फर्किनुभएको छ ।
विराटनगरको ऐतिहासिक काली मन्दिरमा पूर्वराजाको यो भ्रमणलाई उहाँका समर्थकहरूले उत्साहका साथ लिएका छन् । मन्दिर वरपर सुरक्षा व्यवस्था पनि निकै कडा पारिएको थियो