नेपाली कांग्रेसमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा जुटेका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन बोलाएपछि पार्टीका जिल्ला संरचनाहरू खुलेरै पक्षमा उभिन थाल्नु भएको छ ।
अहिलेसम्म ललितपुर कांग्रेस सभापति जितेन्द्रकुमार श्रेष्ठ, कास्की सभापति किशोरदत्त बराल, सिन्धुपाल्चोक सभापति जंगबहादुर लामा, उदयपुर सभापति हिमाल कार्की लगायतका जिल्ला सभापतिहरूले औपचारिक विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनको स्वागत गर्दै सहभागिताका लागि अपिल गर्नुभएको छ । पार्टी स्रोतका अनुसार ३० भन्दा बढी जिल्ला सभापति यसै पक्षमा उभिसक्नु भएको छ ।
विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने तय भइसकेको छ। महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आउने क्रमसमेत सुरु भइसकेको जनाइएको छ।
यता, सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका अधिकांश नेताहरूले विशेष महाधिवेशनको औचित्य नरहेको दाबी गर्दै आउनु भएको छ । पार्टीभित्र बढ्दो दबाबका बीच नेता शेखर कोइरालाले विशेष महाधिवेशनलाई ‘संकल्प महाधिवेशन’मा रूपान्तरण गर्न सभापति देउवालाई आग्रह गर्नुभएको छ ।
असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गर्नुभएको थियो । तर त्यसपछि हस्ताक्षर सनाखतलगायत प्रक्रिया अघि नबढाएको आरोप लागेपछि महामन्त्रीद्वयले विधानअनुसार बाध्यकारी भएको निष्कर्षसहित आफैं विशेष महाधिवेशन आह्वान गर्नुभएको हो ।
कांग्रेस विधानअनुसार, ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरे ३ महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था रहेको छ ।