नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भनिएको छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरिने छ ।
उक्त कार्यक्रममा कार्यवाहक सभापति खड्काले नेता शेखर कोइरालालगायत नेताहरूलाई सँगै राखेर पत्रकार सम्मेलन गर्न लागेको नेताहरूको भनाइ छ।
‘कार्यवाहक सभापति एवं पार्टीका केन्द्रीय नेताहरूको उपस्थितिमा पत्रकार सम्मेलन गर्न लागिएको हो,’ मुख्यसचिव पौडेलले भन्नुभयो ।
पत्रकार सम्मेलनमा नेता शेखर कोइरालालाई पनि बोलाइएको छ।
कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले पत्रकार सम्मेलनका लागि खबर आएको जानकारी दिनुभयो ।
‘कार्यवाहक सभापतिज्यूले पत्रकार सम्मेलनका लागि खबर गर्नुभएको छ, शेखर दाइ जाने/नजाने यकिन भइसकेको छैन,’ थपलियाले भन्नुभयो ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको हिजोको बैठकले हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको थियो। जसमा महामन्त्री गगन थापाले बैठकमै असहमति राख्नु भएको थियो ।
बैठकपछि पत्रकारहरूसँग कुराकानीमा नेता कोइरालाले भने आफू यस विषयमा पुस २८ गतेपछि मात्रै बोल्ने बताउनु भएको थियो ।
हिजो कार्यसम्पादन समिति बैठक हुनुअघि सभापति शेरबहादुर देउवा निवासमा संस्थापन पक्षका पदाधिकारीहरूबीच छलफल भएको थियो।
उक्त छलफलमा संस्थापनइतर नेता शेखर कोइराला र उनीनिकट उपसभापति धनराज गुरूङ र सहमहामन्त्रीहरू बद्रीप्रसाद पाण्डे र जीवन परियार पनि उपस्थित हुनुहुन्थ्यो । सभापति देउवाको निवासमा छलफल गरी कार्यसम्पादन समिति बैठकमा आउँदा संस्थापन र संस्थापनइतर पक्षका कतिपय नेता एकै गाडीमा आउनु भएको थियो ।
कोइरालाले सभापति देउवालाई पार्टी एकताबद्ध राख्न लचक हुन र विशेष महाधिवेशनलाई संकल्प भेलामा रूपान्तरण गर्न आग्रह गर्नु भएको थियो ।
विशेष महाधिवेशन पुस २७ र २८ गते भृकुटीमण्डपमा हुनेछ।