नेपाल शेर्पा विद्यार्थी संघ (Nepal Sherpa Student Association) को केन्द्रीय समिति, काठमाडौंमा हुने आगामी महाधिवेशनलाई लक्षित गर्दै ई. आङ निमा शेर्पा ले केन्द्रीय अध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्नुभएको छ। औपचारिक शिक्षासँगै सिपमुखी र संस्कारित शिक्षालाई व्यवहारमा उतार्ने स्पष्ट दृष्टिकोणसहित उहाँ अध्यक्ष पदका लागि मैदानमा उत्रिनुभएको हो।
उम्मेदवारी घोषणा गर्दै ई. आङ निमा शेर्पाले “औपचारिक शिक्षा, सिपमुखी (प्रोफेसनल) शिक्षा र संस्कारयुक्त शिक्षाको अवधारणा केवल नारामा सीमित हुनु हुँदैन” भन्दै यसलाई व्यवहारिक रूपमा लागू गर्ने नेतृत्व आजको आवश्यकता भएको उल्लेख गर्नुभयो। आफू स्वयं सिपमुखी तथा प्रोफेसनल शिक्षा प्राप्त गरेर यही शैक्षिक वातावरणबाट आएको व्यक्ति भएकाले शेर्पा विद्यार्थीको वास्तविक समस्या, चुनौती र सम्भावनालाई नजिकबाट बुझ्ने अवसर पाएको उहाँको भनाइ छ।
“म आफैं सिपमुखी शिक्षाबाट अघि बढेको विद्यार्थी हुँ। त्यसैले म पूर्ण विश्वासका साथ भन्न सक्छु—अब शेर्पा विद्यार्थीहरूलाई केवल डिग्रीमा सीमित राख्ने होइन, विभिन्न पेशागत क्षेत्रमा प्रवेश गराउने वातावरण निर्माण गर्न सक्ने नेतृत्व आवश्यक छ,” उहाँले भन्नुभयो। अध्यक्ष पदमा निर्वाचित भएमा शेर्पा विद्यार्थीहरूलाई इन्जिनियरिङ, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, व्यवस्थापन, उद्यमशीलता लगायत विविध क्षेत्रमा अघि बढ्न सहयोगी कार्यक्रम ल्याइने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
ई. आङ निमा शेर्पाले संघलाई केवल औपचारिक संरचनामा सीमित नराखी नीतिगत सुधार, नेतृत्व विकास, सीप अभिवृद्धि र रोजगारीसँग जोडिएको विद्यार्थी संगठनका रूपमा विकास गर्ने लक्ष्य लिएको बताउनुभयो। उहाँका अनुसार अबको नेपाल शेर्पा विद्यार्थी संघले विद्यार्थीको आवाज उठाउने मात्र होइन, भविष्य निर्माण गर्ने जिम्मेवारी पनि वहन गर्नुपर्छ।
उम्मेदवारी घोषणासँगै उहाँले संघभित्र पारदर्शिता, सहभागितामूलक निर्णय प्रक्रिया र परिणाममुखी नेतृत्वलाई प्राथमिकता दिने बताउनुभएको छ। “विद्यार्थी आन्दोलनलाई भावनाले होइन, ज्ञान, सीप र स्पष्ट कार्ययोजनाले अघि बढाउनुपर्छ,” भन्दै उहाँले सबै शेर्पा विद्यार्थीहरूलाई परिवर्तनको पक्षमा उभिन आह्वान गर्नुभयो।
नेपाल शेर्पा विद्यार्थी संघको आगामी महाधिवेशनलाई चासोका साथ हेरिएको सन्दर्भमा, शिक्षित, अनुभवी र सिपमुखी दृष्टिकोण बोकेको नेतृत्वको रूपमा ई. आङ निमा शेर्पाको उम्मेदवारीले संघभित्र नयाँ बहस र आशा जगाएको देखिन्छ।