नेपाली कांग्रेसका पूर्व सांसद हृदयराम थानीले आगामी फागुन २१ गतेको निर्वाचन नलड्ने घोषणा गर्नु भएको छ ।
बिहीबार सामाजिक सञ्जालमा लेख्दै उहाँले चुनाव नलड्ने घोषणा गर्नु भएको हो ।उहाँले आफ्नो स्वास्थ्यका कारण चुनाव नलड्ने बताउनु भएको छ ।
‘म सुर्खेत क्षेत्र नं. २ बाट आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार सिफारीस भएको यहाँहरु सबैलाई अवगत नै छ। अर्कोतिर, म करिब २ महिनादेखि खुट्टामा देखिएको नसा सम्बन्धी समस्याले गर्दा सहजरूपमा हिँडडुल गर्न समेत सकिरहेको छैन। डाक्टरको सल्लाह बमोजिम हाल घरमै फिजियोथेरापिष्टको सहयोगमा उपचार गरिरहेको छु,’ उहाँले लेख्नु भएको छ , ‘तसर्थ, मेरो प्रतिकुल स्वास्थ्य अवस्थाको कारण यही माघ ६ गते रहेको मनोनयन दर्तामा समेत उपस्थित र तत्पश्चात सकृय हुन नसक्ने परिस्थिति देखिएकोले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय लिएको छु।’
उहाँले पछिल्लो अवस्थामा मुलुकलाई निर्वाचन सम्पन्न गराउनु नै निकास हुने पनि बताउनु भएको छ ।