असोज २९ गते २०८३ || October 15, 2026

राप्रपाको महामन्त्री बनाइने शर्तमा नानीमैयाले तोडिन् अनशन


शुक्रबार, माघ २ २०८२१२:४५

राप्रपाको महामन्त्री बनाइने शर्तमा नानीमैयाले तोडिन् अनशन

राप्रपामा समानुपातिक सूची सच्याउन माग गर्दै आमरण अनशनमा रहेकी नेतृ नानीमैया आचार्यले आफूलाई महामन्त्री बनाउने शर्तमा अनशन तोड्नु भएको छ । उहाँलाई राप्रपाका पूर्वअध्यक्ष तथा वयोवृद्ध नेता पशुपति शम्शेर राणाले जुस खुवाएर हिजो अनशन तोडाउनु भएको हो  ।


समानुपातिकको बन्दसूचीमा महिला क्लस्टरतर्फ समावेश नाममा असहमति जनाउँदै नानीमैयाले गत शुक्रबार पार्टी कार्यालयमै आमरण अनशन सुरु गर्नु भएको थियो  । गत मंगलबार उहाँलाई संस्थापन पक्षका महिलाहरुले जबर्जस्ती पार्टी कार्यालयबाट निकाल्नु भएको थियो  । त्यसपछि उहाँ ओम अस्पतालमा भर्ना भएर अनशनलाई निरन्तरता दिनु भएको थियो  ।

७ दिनसम्म अनशन बस्दा पनि अध्यक्ष राजेन्द्र लिङदेनले वास्ता नगरेको असन्तुष्ट महिला नेतृहरुले बताउनु भएको छ । नानीमैयाको स्वाथ्य बिग्रिँदै गएपछि उहाँहरुले पशुपतिशम्शेरलाई गुहार्नु भएको हो  । हिजो साँझ ५ बजे राणा अस्पतालमा आएर अनशन तोडाउनु भयो  ।

यस क्रममा एउटा सम्झौतापत्रमा हस्ताक्षरसमेत गरिएको छ, जसमा राणासहित ५ जना शीर्ष नेताहरूले हस्ताक्षर गर्नु भयो । हस्ताक्षर गर्नेमा पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री डा. धवलशम्शेर राणा र कार्यसम्पादन समिति सदस्य निरन्जन थापा रहनु भएको छ  ।

सम्झौतापत्रमा ८ बुँदाहरू छन् । नानीमैया आचार्यलाई राप्रपाको महामन्त्री बनाउने शर्तनामा गरिएको छ । चम्पा अधिकारीलाई केन्द्रीय सदस्य र कार्यसम्पादन समिति सदस्यमा मनोनित तथा आगामी प्रदेश सभा निर्वाचनमा बागमती प्रदेशमा खस आर्यतर्फ एक नम्बर क्लस्टरमा राख्न पनि ५ नेताहरु तयार  हुनु भएको छ  ।

केन्द्रीय सदस्य पवित्रा सुब्बालाई कार्यसम्पादन समितिमा र घ्यूकुमारी बस्नेतलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने समेत भनिएको छ । कथंकदाचित निर्वाचन सरेको खण्डमा पार्टीको समानुपातिक सूचीमा पुनर्विचार गर्ने पनि उल्लेख छ ।

यो सम्झौताका बुँदाहरू एक हप्ताभित्र कार्यान्वयन हुने शर्तमा आफूले अनशन तोडेको नानीमैयाले बताउनु भएको छ  । सम्झौतालाई लिएर राप्रपा संस्थापन पक्षको कुनै पनि प्रतिक्रिया आएको छैन ।

rpp-nanimaiya-aansan-1-e1768545025368.jpg
undefined




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend