नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित उपसभापति विश्वप्रकाश शर्माले आफूहरूले विधान कार्यान्वयन गर्नको लागि विशेष महाधिवेशन आह्वान गरेको बताउनु भयो।
निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा बोल्दै आफूहरूलाई कारबाही गर्दा केन्द्रीय कार्यसमिति विघटन भइसकेको जिकिर गर्नु भयो । केन्द्रीय कार्यालय महामन्त्री मातहत हुने भएकाले विधान अनुसार नै विशेष महाधिवेशन आह्वान भएको जिकिर गर्नु भयो ।
उहाँले अहिलेसम्म २९ जना महाधिवेशन प्रतिनिधिहरूले अहिलेसम्म नाम फिर्ता लिएको बताउनु भयो । उहाँले आधिकारिकता दिनको लागि आयोग धम्कीबाट प्रभावित नहुने विश्वास व्यक्त गर्नु भयो ।
देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो पक्षमा निर्णय नआए देशभर आन्दोलन गर्ने चेतावनी दिनु भएको थियो ।
त्यसबारे उहाँले भन्नुभयो , ‘निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय दिएन भने देशभर आन्दोलन गर्छौँ भनेर केही बेर अघि मात्र पत्रकार सम्मेलन गरिएको सुन्यौँ। यस्ता धम्कीबाट आयोग प्रभावित हुँदैन र आफ्नो निष्ठा भुल्दैन भन्नेमा विश्वस्त छौँ।’
उहाँले आफूहरू १६५ क्षेत्रमा तोकिएकै समयमा उम्मेदवार दर्ता गर्ने तयारीका साथ अघि बढेको बताउनु भयो ।