डा. निकोलस भुसाल (कमल भुसाल) ले रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ। रुपन्देही निर्वाचन क्षेत्र नं. २ बाट उहाँले उम्मेदवारी दर्ता गरेको बताउनु भयो।
मंगलबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेको भुसालले बताउनु भयो।
जुत्ता चिह्न लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका भुसालले राजनीतिक दलहरूले युवाहरूका समस्या समाधान नगर्ने भएकोले आफूले स्वतन्त्र रूपमा उम्मेदवारी दिएको बताउनु भयो ।
जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको माग, प्रदेश खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, विदेशमा रहेकाहरूले पनि मतदान गर्न पाउनेजस्ता माग राख्नु भएको छ ।
काठमाडौंमा बेलाबेला गरिरहने आन्दोलनमा सरकारविरुद्ध उत्तेजक अभिव्यक्ति दिएका कारण उहाँ पक्राउ समेत पर्नु भएको छ ।
भुसालले आगामी निर्वाचनमा पनि आफूले पहिलेदेखि उठाउँदै आएका मागहरूलाई चुनावी एजेन्डाको रूपमा अगाडि सारेको बताउनु भयो ।
‘मेरा चुनावी एजेन्डाहरू पहिलेदेखि नै स्थापित एजेन्डा हुन्, त्योसँगै स्थानीय स्तरमा लुम्बिनी प्रादेशिक अस्पताललाई मेडिकल कलेज बनाउने, ज्योतीनगर पहिरो नियन्त्रण, तिनाउ खोलामा फालिँदै आएको बुटवलको फोहोरलाई मोहरमा परिणत गर्ने तथा यस क्षेत्रका पहाडी जिल्लाहरूमा उत्पादित वस्तुको बजार व्यवस्थापनका मुद्दालाई अगाडी बढाएको छु, उहाँले भन्नुभयो ।