असोज ३० गते २०८३ || October 16, 2026

निर्वाचनमा सामाजिक संजालको दुरुपयोग गर्नेलाई कारबाही हुने


बुधबार, माघ ७ २०८२०३:४०

निर्वाचनमा सामाजिक संजालको दुरुपयोग गर्नेलाई कारबाही हुने

आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उक्त निर्देशन दिएको हो। 

निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय सुरक्षा समितिबाट यसअघि नै पारित भई कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ बमोजिम जिम्मेवार निकायहरूले सम्पादन गरिरहेका कार्यहरू, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाका बारेमा समीक्षा भएको  थियो।

निर्वाचन सुरक्षा योजना सम्बन्धमा चारवटै सुरक्षा निकायले गरेका तयारी सम्बन्धमा बैठकमा ब्रिफिङ भएको  गृह मन्त्रालयले जानकारी दिएको छ। बैठकमा निर्वाचनको सुरक्षा अवस्था र चुनौतीबारे पनि विश्लेषण गरिएको थियो। 

बैठकले निर्वाचनको कार्यक्रममा समन्वय गर्न गठन गरिएका सबै संयन्त्रहरूलाई सक्रिय बनाउने निर्णय गरेको छ। त्यस्तै राजनीतिक दल र उम्मेदवारहरूको प्रचार प्रसार र अभियानलाई व्यवस्थित गराउन सुरक्षा व्यवस्थालाई सुदृढ र भरपर्दो बनाउन सबै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिने निर्णय समेत गरेको छ। बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend