असोज ३० गते २०८३ || October 16, 2026

विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति भोलि सानेपा कार्यालय गएर केन्द्रीय समिति बैठक बस्ने


बिहीबार , माघ ८ २०८२११:००

विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति भोलि सानेपा कार्यालय गएर केन्द्रीय समिति बैठक बस्ने

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति भोलि केन्द्रीय कार्यालय सानेपा जाने भएको छ।

पुस ३० गते भएको विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित हुनुभएको थियो । 

थापा नेतृत्वको कार्यसमिति केन्द्रीय कार्यालय सानेपा अहिलेसम्म गएको थिएन। दुई वटा केन्द्रीय कार्यसमिति र संसदीय बोर्ड बैठक केन्द्रीय कार्यालय बाहिर पार्टी प्यालेस र होटलहरूमा बसेको थियो।

प्रवक्ता देवराज चालिसेले भोलि केन्द्रीय कार्यालय जाने बताउनु भयो । 

‘सभापतिसहित हामी भोलि केन्द्रीय कार्यालय सानेपा जान्छौं, त्यहीँ केन्द्रीय समिति बैठक पनि बस्छ,’ उहाँले भन्नुभयो ।

अधिकांश नेताहरू प्रतिनिधि सभा निर्वाचनका लागि आ-आफ्नो क्षेत्र गइसकेकोले काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठक बस्न लागेको उहाँको भनाइ छ।

केन्द्रीय समिति बैठक भोलि दिउँसो बस्ने पनि उहाँले बताउनु भयो। 

निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको असहमतिबीच विशेष महाधिवेशन भएर नयाँ कार्यसमिति बनेको थियो ।

विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिइसकेको छ भने त्यसको विरूद्धमा निवर्तमान सभापति देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्ष सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्चले पनि यस विषयमा अन्तरिम आदेश दिएन। 

निवर्तमान सभापति देउवा पक्षका तरूण दलका नेता कार्यकर्ताहरू केही दिन केन्द्रीय कार्यालय सानेपामै बसेका थिए। तर अहिले उहाँहरुले केन्द्रीय कार्यालय छाडिसक्नु भएको छ।

तरूण दल अध्यक्ष विद्वान गुरूङले एक विज्ञप्ति जारी गर्दै चुनावमा होमिन आग्रह गर्नु भएको छ। अध्यक्ष गुरूङसहित उहाँनिकट तरूण दलका कार्यकर्ता आगो तापेर केही दिन सानेपामा बस्नु भएको थियो।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कांग्रेस केन्द्रीय कार्यालयमा आगजनी भएको थियो। आगजनीबाट क्षति पुगेको कार्यालय मर्मतको काम पनि चलिरहेको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend