जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले संसदको सदन विघटन गरी मध्यावधि निर्वाचन घोषणा गर्नु भएको छ । अब जापानमा फेब्रुअरी ८ मा चुनाव हुनेछ ।
प्रधानमन्त्री ताकाइचीले आफ्नो लोकप्रियताको फाइदा उठाउँदै सत्तारुढ दलको आधार बलियो बनाउने उद्देश्यले मध्यावधि निर्वाचनको निर्णय लिएको जनाइएको छ । यद्यपि यस कदमका कारण कमजोर अवस्थामा रहेको अर्थतन्त्र सुधार तथा बढ्दो महँगी नियन्त्रणका लागि प्रस्तावित बजेट पारित प्रक्रियामा ढिलाइ हुने भन्दै आलोचना भइरहेको छ ।
गत अक्टोबरमा जापानकी पहिलो महिला प्रधानमन्त्रीका रूपमा ताकाइची निर्वाचित हुनु भएको थियो । पछिल्लो समय उहाँको लोकप्रियता करिब ७० प्रतिशत रहेको जनमत सर्वेक्षणले देखाएको छ ।
२०२४ को निर्वाचनमा ठूलो क्षति व्यहोरेपछि सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी र उसका गठबन्धन दलहरू तल्लो सदनमा झिनो बहुमतमा सीमित छन् । माथिल्लो सदनमा बहुमत नहुँदा सरकारले आफ्ना नीति तथा कार्यक्रम अघि बढाउन विपक्षी दलको समर्थन लिनुपर्ने अवस्था छ ।
मध्यावधि निर्वाचनको घोषणा गर्दै ताकाइचीले भन्नुभयो , 'प्रधानमन्त्रीका रूपमा म उपयुक्त छु कि छैन भन्ने निर्णय जनताले नै गर्नुपर्छ ।' उहाँले थप्नु भयो , 'यस निर्वाचनमा म आफ्नो राजनीतिक करियर नै दाउमा राख्दै छु ।'
कट्टरपन्थी रुढिवादी मानिने ताकाइचीले आफ्ना पूर्ववर्ती प्रधानमन्त्री शिगेरु इशिबाभन्दा फरक नीति अपनाउँदै उच्च सरकारी खर्च, सैन्य क्षमता विस्तार र कडा आप्रवासन नीतिमार्फत जापानलाई 'बलियो र समृद्ध' बनाउने प्रतिबद्धता जनाउनु भएको छ ।