मधेश प्रदेशबाट राष्ट्रियसभाका चार सदस्य चयन गर्नका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ।
जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सास्कृतिक केन्द्रमा आज बिहान ९ बजेदेखि मतदान भइरहेको छ । ४ सीटका लागि ११ जना चुनावी मैदानमा हुनुहुन्छ ।
मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीले २ वटा मतदान केन्द्र तोकिएका जानकारी दिनुभयो । कांग्रेस, एमाले र जसपा नेपाल गठबन्धनतर्फ अल्पसंख्यक तथा दलित समूहबाट कांग्रेसका रञ्जित कर्ण र धर्मेन्द्र पासवान, अन्य समूहबाट जसपा नेपालका संरक्षक महन्थ ठाकुर तथा महिलातर्फ एमालेकी रेखा झा उम्मेदवार हुनुहुन्छ ।
त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीबाट शम्भु पासवान, लक्ष्मण पौडेल, रामानन्द प्रसाद र समी अग्रवाल उम्मेदवार बन्नु भएको छ । जसपा नेपालबाट दलित, महिला तथा अल्पसंख्यक समूहमा चमेली देवी दास, चन्द्रकला साह र शैलेश चौधरीको उम्मेदवारी परे पनि जसपा नेपाल र लोसपाबीच एकीकरणपछि ती उम्मेदवारी निष्क्रिय बनाउने सहमति भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
निर्वाचनमा मधेश प्रदेशका १०७ प्रदेशसभा सदस्यमध्ये १०० जना तथा १३६ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमध्ये २६४ जना गरी कुल ३६४ मतदाताले मतदान गर्नुहुनेछ ।
प्रदेशसभा सदस्यमध्ये ३ जना निलम्बनमा परेका र २ जनाले राजीनामा दिएका कारण उहाँहरू मतदान प्रक्रियामा सहभागी हुन पाउनु हुने छैन । निलम्बनमा रहेका स्थानीय तहका पदाधिकारीहरू पनि मतदानबाट वञ्चित रहनु हुने छ ।
निर्वाचनलाई मर्यादित, निष्पक्ष र विश्वसनीय बनाउन सुरक्षा व्यवस्था कडा बनाइएको प्रशासनले बताएको छ ।