नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाहीका जनतासँग केवल मत माग्न नभई दीर्घकालीन सम्बोधन गाँस्न आएको बताउनु भएको छ ।
थापा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा उम्मेदवार हुनुहुन्छ । मंगलबार उहाँले नेता–कार्यकर्तासँग भेटका क्रममा यस्तो बताउनु भएको हो ।
थापाले चुनावका बेला मात्र देखिने पाहुना नेता बन्न नचाहेको स्पष्ट पार्नु भयो । उहाँले केही नेताहरू चुनावको समयमा मात्र आएर फोटो खिच्ने औपचारिकता निभाउने र पछि हराउने प्रवृत्तिबाट आफू अलग रहेको दाबी गर्नु भयो ।
स्थानीय भाषाका केही शब्द बोल्न सुझाव आए पनि केवल ताली बटुल्न नाटक नगर्न उहाँको भनाइ थियो। थापाले काठमाडौँमा सांसद रहँदा गैर नेवार भएपनि नेवार समुदायको संस्कृति र पर्वमा घुलमिल भएर विश्वास जितेको अनुभव सुनाउँदै उहाँले सर्लाहीमा पनि त्यस्तै सम्बन्ध निर्माण गर्ने प्रतिबद्धता जनाउनु भयो ।
आफू नौटङ्की र चटके शैलीमा राजनीति नगर्ने बताउँदै थापाले सर्लाही क्षेत्र नम्बर ४ का जनताको साथी भाइ र छोराको रूपमा काम गर्ने सङ्कल्प गर्नु भयो ।