असोज २९ गते २०८३ || October 15, 2026

अबको पाँच वर्ष कांग्रेसले मधेसका मुद्दा जुरुक्क बोक्ने गगनको दाबी


शुक्रबार, माघ १६ २०८२०५:१२

अबको पाँच वर्ष कांग्रेसले मधेसका मुद्दा जुरुक्क बोक्ने गगनको दाबी

 नेपाली कांग्रेसका सभापति गगन थापाले अबको पाँच वर्ष पार्टीले मधेसका मुद्दा बोक्ने बताउनु भएको छ  । शुक्रबार धनुषामा भएको कार्यकर्ता भेटघाटमा सभापति थापाले मधेसले सम्पूर्ण विश्वास दिए कांग्रेसको एकमना सरकार बन्ने र सम्पूर्ण मुद्दा पनि बोक्ने बताउनु भयो  ।

“मधेसले पूर्ण विश्वास दिएपछि कांग्रेसको एकमना सरकार बन्छ । त्यो सरकारले मधेसका मुद्दा जुरुक्क बोक्छ । चाहे त्यो संविधानसम्बन्धी विषय होस्, चाहे मधेसीमाथि हुने अन्यायपूर्ण विभेदसँग जोडिएको विषय हुन् सबै मुद्दा कांग्रेसले बोक्छ,” सभापति थापाले भन्नुभयो , “म निर्वाचन क्षेत्र नभएर यहाँ आएको होइन, मधेसलाई जोड्न आएको हुँ, नेपाली कांग्रेसको जननी हो ।” 

उहाँले मधेसका मुद्दा सम्बोधन गर्न आफूले मात्र जितेर नपुग्ने बताउनु भयो  । पार्टीबाट भएका कतिपय त्रुटिले धेरैजना कांग्रेसबाट बाहिर बसिसकेको स्वीकार गर्दै अहिले फर्कने क्रम सुरु भएको बताउनु भयो  । “हिजो पार्टीबाट कतिपय कमीकमजोरी भएका छन् । जसका कारण धेरै साथीहरू पार्टीभन्दा बाहिर जानुभएको छ । हिजोदेखि हामीसँग जोडिनेक्रम सुरु भएको छ,” थापाले भन्नुभयो , “अब सबै साथीहरू एकजुट हुनुस् । एक भएर बाहिर गएकाहरूलाई घर फर्काउने पहल लिनुस् ।” 

उहाँले  निवर्तमान सभापति शेरबहादुर देउवासँग संवाद भइरहेको भन्दै पार्टीभित्र विभाजित मत अहिले बाँकी नरहेको बताउनु भयो । धनुषा–१ का उमेदवारसँगै, क्षेत्र नम्बर–३ का उमेदवार पूर्वउपसभापति विमलेन्द्र निधि, क्षेत्र नम्बर–४ का उमेदवार महेन्द्र यादवलाई पनि जिताउन आग्रह गर्नु भयो  । “मलाई मायाँ गर्ने साथीहरूले धनुुषा–४ का उमेदवार महेन्द्र यादवलाई पनि माया गर्नुपर्छ, चुनाव जिताउनुपर्छ । अनि मात्र मलाई वास्तविक रूपमा माया गरेको ठहर्छ,” थापाले भन्नुभयो  । 

उहाँले  देशलाई सम्हाल्ने र अवस्था सुधार्ने दुईवटा काम एक साथ गर्ने बताउनु भयो  । कार्यक्रममा जसपाबाट चुनाव जितेका स्थानीय जनप्रतिनिधिसहित कांग्रेस प्रवेश गर्नु भएको थियो  ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend