तत्कालीन सांसद डा. तोसीमा कार्कीले जेन–जी आन्दोलनका क्रममा सुरक्षाकर्मीले आवश्यक संयमता नअपनाउँदा अवस्था झन् जटिल र नियन्त्रणबाहिर पुगेको बताएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद कार्कीले भदौ २३ गते घटेको घटनाबारे गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगसमक्ष दिएको बयानमा यस्तो उल्लेख गरेकी हुन्।
उनका अनुसार बानेश्वर क्षेत्रमा आन्दोलन चर्किँदै जाँदा प्रदर्शनकारी र प्रहरीबीच तीव्र झडप भएको थियो। एकातिर प्रहरीले फायरिङ गरिरहेको थियो भने अर्कोतर्फ आन्दोलनकारीहरूले ढुंगा प्रहार गरिरहेका थिए। दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरिए पनि परिस्थिति नियन्त्रणबाहिर जाँदै गएको उनले बताइन्।
घटनापछि घाइतेहरूको उपचारका लागि सिभिल अस्पताल पुगेकी कार्कीले त्यहाँ घाइतेहरूको संख्या लगातार बढिरहेको देखिएको बताइन्। उनका अनुसार केही घाइतेहरू सामान्य उपचारपछि पुनः आन्दोलनमा फर्किने गरेका थिए। उनीहरूलाई नजान आग्रह गरिए पनि धेरैले अटेर गरेको उनको भनाइ छ।
डा. कार्कीले अश्रुग्यासको असर अस्पतालभित्रसम्म पुगेको र यसले उपचार प्रक्रियालाई थप चुनौतीपूर्ण बनाएको उल्लेख गरिन्। उनले रातभर अस्पतालमै बसेर स्वास्थ्यकर्मीहरूसँग मिलेर घाइतेहरूको उपचारमा सहयोग गरेकी थिइन्।
भदौ २४ गते पनि बानेश्वर क्षेत्र तनावग्रस्त नै रहेको र बिहानैदेखि घाइतेहरू अस्पताल ल्याइरहिएको उनले बताइन्। सोही क्रममा संसद् भवन परिसरमा एक व्यक्ति अचेत अवस्थामा फेला परेपछि उनलाई अस्पताल पठाउन आफूले सहयोग गरेको पनि उनले जानकारी दिइन्।
उनले दिनभर आन्दोलनकारीहरूलाई तोडफोड नगर्न आग्रह गर्दै घाइतेहरूको उपचार तथा आवश्यक परे अन्य अस्पतालमा रिफर गर्न सहजीकरण गरेको र भदौ २५ गते बिहान मात्र अस्पतालबाट बाहिरिएको बयान आयोगसमक्ष प्रस्तुत गरेकी छन्।