असोज २९ गते २०८३ || October 15, 2026

मनोहरा सुकुम्वासी बस्ती हटाउन कडा सुरक्षा, १२ डोजरद्वारा संरचना भत्काइँदै


आइतबार, वैशाख १३ २०८३१२:४३

मनोहरा सुकुम्वासी बस्ती हटाउन कडा सुरक्षा, १२ डोजरद्वारा संरचना भत्काइँदै

भक्तपुरको मनोहरा क्षेत्रमा रहेको सुकुम्वासी बस्ती हटाउने कार्य सुरु गरिएको छ। शनिबार (वैशाख १२) साँझ बस्ती हटाउने क्रममा डोजर र प्रहरीमाथि ढुंगामुढा भएपछि आज (वैशाख १३) कडा सुरक्षा व्यवस्थाबीच पुनः डोजर चलाइएको हो।

ढुंगामुढाको घटनामा भक्तपुरका डीएसपीसहित २२ जना सुरक्षाकर्मी घाइते भएका थिए। सरकारले तीन दिनअघि मात्रै उपत्यकाका सुकुम्वासी बस्ती हटाउने निर्णय गर्दै माइकिङमार्फत बस्ती खाली गर्न आग्रह गरेको थियो।

आज करिब १,२०० भन्दा बढी नेपाल प्रहरी र ६०० भन्दा बढी सशस्त्र प्रहरीको घेराभित्र १२ वटा डोजर प्रयोग गरी संरचना भत्काउने काम भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। साथै, तीन स्थानीय तहका ३०० भन्दा बढी नगरप्रहरी पनि उक्त कार्यमा संलग्न छन्।

काठमाडौं महानगरपालिकाको नेतृत्वमा कागेश्वरी मनोहरा नगरपालिका र भक्तपुर नगरपालिकाभित्र पर्ने उक्त बस्ती हटाउने कार्य भइरहेको हो। काठमाडौं नगरप्रहरी प्रमुख तथा एसपी विष्णु जोशीका अनुसार, करिब २,००० सुरक्षाकर्मीको निगरानीमा पक्की घरहरू समेत भत्काइँदै छन्।

उनका अनुसार शनिबार राति केही समूहले अवरोध गरे पनि आज भने कुनै अवरोध छैन। अधिकांश बासिन्दाले हिजै घर छाडिसकेका छन् भने बाँकीलाई प्रहरीले सहयोग गरी स्थानान्तरण गरिरहेको छ।

मनोहरा क्षेत्रमा करिब ७७७ घरटहरा निर्माण भएका थिए, जसमा अधिकांश पक्की संरचना रहेको प्रहरीले जनाएको छ। सुरक्षाकर्मीलाई उद्धार, संरचना हटाउने र सुरक्षा दिने गरी विभिन्न समूहमा विभाजन गरिएको छ।

यसअघि शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत बाढीको जोखिम देखाउँदै बस्ती खाली गर्न आग्रह गरेका थिए। त्यसपछि धेरैजसो बासिन्दा स्वयं स्थानान्तरण हुन थालेका थिए।

सरकारले वास्तविक सुकुम्वासीहरूलाई नागार्जुन, कीर्तिपुर र भक्तपुरका विभिन्न स्थानमा अस्थायी आवासको व्यवस्था गर्ने योजना अघि बढाएको छ। त्यसअनुसार, सम्पर्कमा आएका परिवारहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जनाइएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend