सम्पदा संरक्षण नेपाल का अभियानकर्मीहरूले काठमाडौँ महानगरपालिका–२६ ठमेलस्थित ऐतिहासिक कमलपोखरी अतिक्रमण गरेर निर्माण गरिएको छायाँदेवी कम्प्लेक्स भत्काउन माग गरेका छन् ।
ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको कमलपोखरी मासेर निजी संरचना निर्माण गरिएको भन्दै उनीहरूले बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा अभियानकर्मीहरूले विभिन्न प्ले–कार्डसहित सम्पदा संरक्षणको माग उठाएका थिए ।
उनीहरूले विगतका सरकारले सार्वजनिक सम्पदा संरक्षणमा बेवास्ता गरेको आरोप लगाउँदै पटक–पटक उजुरी गर्दा पनि सुनुवाइ नभएको गुनासो गरेका छन् । हाल सरकारले सार्वजनिक जग्गा खाली गराउने अभियान सञ्चालन गरिरहेका बेला कमलपोखरीको विषयलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनीहरूको माग छ ।
सम्पदा संरक्षण नेपालका सभापति कवीर डङ्गोल ले ठमेलको कमलपोखरी पुरानै स्वरूपमा पुनःस्थापना नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
“सम्पदा जोगाऔँ, सार्वजनिक पोखरी बचाऔँ” भन्ने नारासहित आन्दोलनमा उत्रिएका अभियानकर्मीहरूले सार्वजनिक पोखरी अतिक्रमण गरेर बनाइएको संरचना कानुनविपरीत रहेको दाबी गरेका छन् ।