असोज ३० गते २०८३ || October 16, 2026

राति ८ बजेपछि पनि बस सेवा, महानगरले ल्यायो नयाँ व्यवस्था


बिहीबार , चैत १९ २०८२१२:३८

राति ८ बजेपछि पनि बस सेवा, महानगरले ल्यायो नयाँ व्यवस्था

काठमाडौँ महानगरपालिकाले साझा यातायातसँग सहकार्य गर्दै आगामी वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने भएको छ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले राति ८ बजेपछि सार्वजनिक यातायात नचल्दा यात्रुहरू महँगो भाडा तिर्न बाध्य भइरहेको अवस्थालाई सुधार गर्न यो सेवा सुरु गर्न लागिएको बताइन्।

उनले भनिन्, “सार्वजनिक यातायात र यसको विकल्पको अभावले सर्वसाधारणलाई समस्या परेको छ। विशेषगरी किशोरी र महिलाहरूले दुर्व्यवहारको जोखिम भोग्नु परेको छ भने विद्यार्थीहरू आर्थिक रूपमा बढी मारमा परेका छन्। यस अवस्थालाई सुधार गर्न हामीले रात्रिकालीन सेवा सुरु गर्न लागेका हौँ।”

डङ्गोलले यातायात प्रणालीलाई अत्याधुनिक, एकीकृत, सहज, सुरक्षित र भरपर्दो बनाउने लक्ष्य रहेको उल्लेख गर्दै साझेदारहरूसँग सहकार्यका लागि महानगर सधैं तयार रहेको बताइन्।

यसअन्तर्गत दुई वटा रुटमा सेवा सञ्चालन गरिनेछ। पहिलो रुट ललितपुरको लगनखेलबाट सुरु भई पाटन अस्पताल, अल्का, नर्भिक अस्पताल, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल र गङ्गालाल हृदय केन्द्र हुँदै बूढानीलकण्ठसम्म पुग्नेछ। यो उत्तर–दक्षिण दिशाको करिब १६ किलोमिटर लामो एकतर्फी रुट हो।

दोस्रो रुट थानकोटबाट सुरु भई सतुङ्गल, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन र तीनकुने हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्नेछ। यो पूर्व–पश्चिम दिशाको करिब २० किलोमिटर लामो एकतर्फी रुट हुनेछ।

यी दुई रुटमा चार वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन गरिनेछन्। बस सेवा राति ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ भने प्रत्येक २० मिनेटको अन्तरमा बस उपलब्ध हुनेछन्।

यात्रुहरूको सुरक्षाका लागि बसमा सीसीटिभी क्यामरा जडान गरिनेछ र नगर प्रहरी परिचालन गरिने महानगरपालिकाले जनाएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend