स्वतन्त्र सांसद महावीर पुनले आफूलाई उपसभामुख पदमा कुनै रुची नभएको स्पष्ट पारेका छन्। सभामुख चयनपछि संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उपसभामुख पदका लागि अघि नबढ्ने बताएका हुन्। उनले आफू मन नलाग्दा नलाग्दै सांसद बनेको उल्लेख गर्दै उपसभामुखजस्तो औपचारिक पद सम्हाल्ने इच्छा नभएको बताए।
‘नबढौं, नबढौं, त्यस्तो खाने मान्छे होइन म। सांसद पनि बल्ल बल्ल भएको छु, मन नलाग्दा नलाग्दै भएको हुँ,’ पुनले भने, ‘उपसभामुखजस्तो पद सम्हालेर बस्ने मान्छे म होइन।’
पुनले संसदमा आफू बलियो रूपमा प्रस्तुत हुने बताउँदै देश विकासका मुद्दामा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाए। ‘राजनीतिको कुरामा मलाई खासै मतलब छैन, तर देश विकासको विषयमा मेरो प्रस्तुति राम्रो हुन्छ,’ उनले भने।
त्यसैगरी, उनले आफ्नो व्यक्तिगत योजना पनि सार्वजनिक गर्दै छुट्टीका दिनमा किताब बेच्ने कामलाई निरन्तरता दिने बताए। ‘संसद बैठक नभएको दिन, चाडपर्व वा बिदाका समयमा म चोकमा बसेर किताब बेच्नेछु। एक दिनमै सयौं किताब बेच्न सक्छु,’ उनले बताए।
यसैबीच, उनले गृहमन्त्री सुदन गुरुङको कामको प्रशंसा गर्दै कडाइका साथ काम गर्न सुझाव दिएका छन्। ‘उहाँले राम्रो काम गरिरहनुभएको छ। दबाबमा नपरी निष्पक्ष रूपमा काम गर्नुपर्छ, गलत गर्नेहरूलाई कारवाही गर्नुपर्छ,’ पुनले भने।