पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमेश बडालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध लगाइएको आरोप प्रमाणित हुन नसक्ने दाबी गर्दै बन्दी प्रत्यक्षीकरण रिट जारी गर्न माग गरेका छन्। सोमबार उनीहरूको तर्फबाट बहस गर्दै बडालले उक्त जिकिर प्रस्तुत गरेका हुन्।
उनले भदौ २३ र २४ मा भएको घटनालाई नै पहिले कानुनी रूपमा कसुर हो वा होइन भन्ने स्पष्ट हुनुपर्ने बताए। “कसुर स्थापित नभएसम्म कसैलाई पनि पक्राउ गर्न मिल्दैन,” उनले तर्क गरे।
बडालले जाँचबुझ आयोगको प्रतिवेदन पूर्वाग्रहबाट प्रभावित रहेको आरोप पनि लगाए। आयोग गठन हुनुअघि सामाजिक सञ्जालमा व्यक्त गरिएका धारणा पुष्टि गर्नकै लागि पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई लक्षित गरिएको उनको भनाइ थियो।
त्यसैगरी, गोली चलाउने आदेश दिने अधिकार जिल्ला सुरक्षा प्रमुखसँग हुने उल्लेख गर्दै उनले सोही अधिकार भएको व्यक्तिलाई पक्राउ गरी हाजिरी जमानीमा छाडिसकेपछि पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई मात्र थुनामा राख्नु गैरकानुनी हुने जिकिर गरे।