कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरणमन्त्री गीता चौधरीले काठमाडौँको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारको आकस्मिक निरीक्षण गरेकी छन्। बजार व्यवस्थापनमा कमजोरी भएको गुनासो आएपछि उनले बिहीबार स्थलगत अनुगमन गरेकी हुन्।
अनुगमनका क्रममा इजाजतपत्र लिएका व्यवसायीको नाममा अन्य व्यक्तिले भाडामा लिएर पसल सञ्चालन गरेको पाइएको मन्त्रीको सचिवालयले जनाएको छ। साथै, विषादी परीक्षण नगरी तरकारी उपभोक्तासम्म पुग्ने, बिलविजकमा अनियमितता हुने र इजाजतपत्र नवीकरण नगरी पसल सञ्चालन भइरहेको जस्ता समस्या पनि उजागर भएका छन्।
मन्त्री चौधरीले थोक बजारका ६१०, ६४५, ६९३, ७०१, ७०४, ७११ र ७१८ नम्बरका पसल निरीक्षण गर्दा इजाजतधारी व्यवसायी आफैं उपस्थित नभएको पाइयो। केही स्थानमा एउटै दर्तामा दुईदेखि तीन जनासम्मले व्यवसाय सञ्चालन गरिरहेको पनि भेटिएको छ।
त्यस्तै, माछा पसलहरूमा पनि यस्तै प्रवृत्ति देखिएको छ। २४, १३ ‘ख’, ११ ‘क’, १०, ११ र १० ‘ख’ नम्बरका पसलहरूको निरीक्षणका क्रममा आपूर्तिकर्ताबाट ल्याइएको माछा थोक रूपमा बिक्री गर्दा बिलविजकमा अनियमितता भएको फेला परेको छ।
निरीक्षणपछि मन्त्री चौधरीले बजार व्यवस्थापनमा देखिएका समस्या तुरुन्त सुधार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्। उपभोक्ताको स्वास्थ्य र अधिकारमा असर पार्ने गतिविधिमाथि कडाइका साथ नियन्त्रण गरिने पनि उनले स्पष्ट पारेकी छन्।