संसदीय समिति सभापतिको निर्वाचन नजिकिँदै गर्दा तीन प्रमुख प्रतिपक्षी दलबीच उम्मेदवारीबारे छलफल तीव्र बनेको छ। सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का नेताहरूबीच आज महत्वपूर्ण बैठक भइरहेको छ।
छलफलमा सहभागी एक सांसदका अनुसार दलहरूबीच साझा रणनीति बनाउने प्रयास भइरहेको छ। “अहिले कांग्रेस, एमाले र नेकपाका नेताहरूबीच छलफल चलिरहेको छ। एमाले उम्मेदवारी नदिने कि भन्ने विषयमा पनि विचार भइरहेको छ,” उनले भने, “छलफलपछि निष्कर्षमा पुग्नेछौँ।”
संसदीय समिति सभापतिको निर्वाचन शुक्रबार (वैशाख ४)का लागि तय गरिएको छ भने मनोनयन प्रक्रिया आज (वैशाख ३) दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ। त्यसअघि नै विपक्षी दलहरू आन्तरिक तथा संयुक्त छलफलमा सक्रिय भएका छन्।
यसैबीच, पहिलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि आफ्ना धारणा तय गर्न आज मध्याह्न संसदीय दलको बैठक बोलाएको छ।