अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेट आम नागरिकको सामाजिक जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने दिशामा केन्द्रित गरिने बताएका छन्। इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) का प्रतिनिधिमण्डलसँग भएको छलफलमा उनले वर्तमान आर्थिक चुनौती समाधान गर्न स्पष्ट प्राथमिकता तय गरिएको जानकारी दिए।
उनका अनुसार उद्यमशीलताको प्रवर्द्धन, स्वदेशी उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणमार्फत अर्थतन्त्रलाई मजबुत बनाउने लक्ष्य राखिएको छ। पूँजी निर्माण, रोजगारी सिर्जना र मूल्यवृद्धि नियन्त्रणलाई बजेटका मुख्य आधारका रूपमा अघि बढाइने उनले बताए।
अर्थमन्त्री वाग्लेले सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको उल्लेख गर्दै यसका लागि सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए। साथै, रोजगारी सिर्जना सरकारको प्रमुख प्राथमिकता भएको पनि उनले स्पष्ट पारे।
छलफलका क्रममा इमानका प्रतिनिधिहरूले सञ्चार क्षेत्रको विकासका लागि सन्तुलित, समावेशी र व्यवहारिक नीतिहरू आवश्यक रहेको धारणा राखेका थिए। सञ्चार क्षेत्रसँग सहकार्य गर्दै आर्थिक सुधारका कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल केन्द्रित भएको थियो।