असोज ३० गते २०८३ || October 16, 2026

शेयर विवादबीच गृहमन्त्री गुरुङ नियमित कार्यमा सक्रिय


मंगलबार, वैशाख ८ २०८३०१:३५

शेयर विवादबीच गृहमन्त्री गुरुङ नियमित कार्यमा सक्रिय

स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको शेयर खरिद विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ अहिले पनि नियमित रूपमा सरकारी कामकाजमा सक्रिय देखिएका छन्।

अन्य दिनझैँ मंगलबार पनि उनले सिंहदरबारस्थित गृह मन्त्रालयमा दैनिक कार्य सञ्चालन गरेका छन्। सोही क्रममा मध्यान्ह सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले गृहमन्त्री गुरुङसँग भेट गरेका थिए। मन्त्रालय स्रोतका अनुसार उक्त भेटमा सशस्त्र प्रहरीको बढुवासम्बन्धी नियमित विषयमा छलफल भएको थियो।

विवाद चुलिँदै जाँदा गृहमन्त्री गुरुङले सोमबार सामाजिक सञ्जालमार्फत दुई पटक स्पष्टीकरण दिँदै शेयर खरिद गर्नु अपराध नभएको दाबी गरेका थिए। यसैबीच, उनको शेयर कारोबारबारे पार्टीले समेत स्पष्टीकरण सोधेको चर्चा चलेको छ।

गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित गुरुङले चैत १३ गते प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्।

उनको विषयलाई लिएर प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछानेबीच पनि छलफल भएको स्रोतले जनाएको छ। यता, सिंहदरबारमा गृहमन्त्री गुरुङले राजीनामा दिन सक्ने अड्कलबाजी समेत भइरहेका छन्।

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend