प्रधानमन्त्री बालेन शाहले मंगलबार दिउँसो ३:३० बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ भनेर प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
गृहमन्त्री सुधन गुरुङलाई पदबाट हटाउन माग भइरहेका बेला मन्त्रिपरिषद् बैठक आह्वान गरिएको हो। गुरुङ सम्पत्ति शुद्धीकरणको आरोपमा प्रहरी हिरासतमा रहेका दीपक भट्टसँग व्यवसायिक साझेदार रहेको तथ्य सार्वजनिक भएपछि विवादमा तानिएका छन्।
यसैबीच, गृहमन्त्रीका रूपमा सार्वजनिक गरिएको उनको सम्पत्ति विवरण र पछिल्लो समय बाहिरिएको विवरणबीच फरक देखिएको छ। प्रारम्भिक विवरणमा ऋण उल्लेख नभएको भए पनि अहिले विवाद चर्किएपछि उनले ऋणसम्बन्धी कागजात सार्वजनिक गरेका छन्।