नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले प्रधानन्यायाधीश नियुक्तिमा विगतदेखि कायम रहेको परम्परा नबिगार्न संवैधानिक परिषद्लाई आग्रह गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् धारणा सार्वजनिक गर्दै उनले संवैधानिक परिषद्को बैठकबाट हुने सम्भावित नियुक्तिप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘संवैधानिक परिषद्का अध्यक्ष सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा परिषद्को बैठक आज बस्दै छ । जानकारीमा आएअनुसार सर्वोच्च अदालतको प्रधानन्यायाधीशको नियुक्ति आज गरिँदै छ,’ खड्काले उल्लेख गरेका छन्, ‘करिब चार दशकदेखिको प्रधानन्यायाधीश नियुक्तिको स्थापित परम्परालाई परिषद्ले तलमाथि नगरोस् ।’
उनले स्थापित अभ्यासलाई तोड्ने प्रयास भए न्यायालयमा गम्भीर अस्थिरता उत्पन्न हुने चेतावनी दिएका छन् ।
‘नभए धेरै ठूलो असुरक्षा र अनिश्चितताले न्यायालयमा डरलाग्दो अस्थिरता आउने छ,’ खड्काले लेखेका छन्, ‘जसले हाम्रो स्थापित लोकतान्त्रिक प्रणालीमा बहुआयामिक प्रभाव पार्ने खतरा उत्पन्न हुन सक्नेछ । विशेष गरी परिषद्का अध्यक्षजीको गम्भीर ध्यानाकर्षण ।’