असोज २९ गते २०८३ || October 15, 2026

पहिलो प्रयासमै रानीदेवी माविको उल्लेखनीय सफलता, ७० प्रतिशत विद्यार्थी उत्तीर्ण


मंगलबार, वैशाख २९ २०८३१२:१०

पहिलो प्रयासमै रानीदेवी माविको उल्लेखनीय सफलता, ७० प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । रानीदेवी माध्यमिक विद्यालय ले यस वर्षको एस.ई.ई. परीक्षामा पहिलो पटक सहभागी भएर उल्लेखनीय सफलता हासिल गरेको छ । विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने बाँकी ३० प्रतिशत विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने विद्यालयले जनाएको छ । विद्यालयका अनुसार ननग्रेडेड भएका विद्यार्थीहरू पनि अधिकांश १ वा २ विषयमा मात्रै कमजोर रहेका छन् र आगामी ग्रेड वृद्धि परीक्षामार्फत सबैलाई सफल गराउने विश्वास विद्यालयले व्यक्त गरेको छ । विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद गौतम ले सीमित स्रोतसाधन, विषयगत शिक्षक अभाव र विभिन्न चुनौतीबीच पनि शिक्षकहरूको अथक मेहनतका कारण विद्यालयले उल्लेखनीय नतिजा हासिल गर्न सफल भएको बताए । उनका अनुसार माध्यमिक तहमा नेपाली विषय बाहेक अन्य विषयगत दरबन्दी नहुँदा पनि प्राप्त भएको यो नतिजा शिक्षकहरूको समर्पण र लगनशीलताको प्रतिफल हो । प्रधानाध्यापक गौतमका अनुसार २०८१ सालमा कक्षा ९ सञ्चालन अनुमति सम्बन्धी अन्योलका कारण कक्षा ८ उत्तीर्ण गरेका धेरै अब्बल विद्यार्थी अन्य विद्यालयमा भर्ना हुन गएका थिए । त्यसपछि विद्यालयमा बाँकी रहेका सिकाइमा कमजोर विद्यार्थीलाई लक्षित गर्दै विशेष तयारीका साथ अध्यापन सुरु गरिएको थियो । विद्यालयले सबै विद्यार्थीलाई कक्षा १० सम्म पुर्‍याएको थियो भने थप ७ जना नयाँ विद्यार्थीलाई पनि भर्ना गरिएको थियो । तीमध्ये ३ जना विद्यार्थीलाई पढाइ कमजोर भएकै कारण काठमाडौंका अन्य विद्यालयहरूले भर्ना लिन अस्वीकार गरेको अवस्थामा रानीदेवी माविले अवसर दिएको थियो । अहिले ती तीनै जना विद्यार्थी एस.ई.ई. परीक्षामा सफल भएपछि विद्यालय परिवार थप उत्साहित बनेको छ । प्रधानाध्यापक गौतमले शिक्षक, विद्यार्थी र अभिभावकको संयुक्त मेहनतले कुनै पनि कमजोर विद्यार्थीलाई सफल बनाउन सकिने प्रमाणित भएको बताए । विद्यालयले कतिपय विद्यालयहरूले सतप्रतिशत नतिजाको नाममा कक्षा ९ मै विद्यार्थी रोक्ने प्रवृत्ति गलत भएको पनि उल्लेख गरेको छ । विद्यालयका अनुसार यदि कमजोर विद्यार्थीलाई अवसर नदिइएको भए उनीहरूको भविष्य अन्यायमा पर्ने थियो । यस वर्ष पनि अन्य विद्यालयले कक्षा ९ मा रोकेका केही विद्यार्थीलाई रानीदेवी माविले कक्षा १० मा भर्ना गरेको जनाएको छ । विद्यालय व्यवस्थापन समितिको सहयोग, वडा कार्यालयको सकारात्मक सोच तथा काठमाडौं महानगरपालिका शिक्षा विभाग को सहयोगप्रति विद्यालयले आभार व्यक्त गरेको छ । साथै एस.ई.ई. परीक्षामा सफल भएका सम्पूर्ण विद्यार्थीलाई विद्यालयले हार्दिक बधाई दिएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend