काठमाण्डाै - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सिँचाइमा खपत हुने बिजुली निःशुल्क बनाउने घोषणा गरेकी छन्। मन्त्री भुसालले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाइ देशकाे अर्थतन्त्रलाई टेवा पुर्याउनका लागि आफूले सिँचाइमा खपत हुने बिजुली निःशुल्क बनाउने लक्ष्य लिएको बताएकी हुन्।
आज शुक्रवारदेखि काठमाण्डाैमा सुरु भएको नेपाल हस्तकला महासङ्घको ४१ औँ वार्षिक साधारण सभामा बोल्दै उनले भने, ‘कृषिमा आत्मनिर्भर बन्नका लागि गएकाे मङ्सिर १ गतेदेखि सिँचाइमा खपत हुने बिजुलीकाे मूल्य ५० प्रतिशतले घटाएको छु । मेरो उद्देश्य त्यसलाई निःशुल्क बनाउने रहेकाे छ ।’
कार्यक्रममा मन्त्री भुसालले नेपालमा उत्पादित हुने वस्तुहरू आयात नगर्न पनि व्यवसायीहरूलाई आग्रह गरिन्। उनले नाफा हुन्छ भन्दैमा प्लास्टिकका फूलहरू आयात गर्ने काम व्यवसायीहरूले गर्न नहुने धारणा राखिन् । उद्योगीहरूले देशकाे अर्थतन्त्रलाई टेवा पुर्याउने खालका वस्तुहरूको उत्पादन र बिक्रीमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बजारको मागअनुसार हस्तकला सामग्रीहरूको बिक्री गर्न उद्योगीहरूलाई आग्रह गरे। उनले हस्तकलाका सामग्रीको प्रवर्द्धनका लागि औद्योगिक ग्राम बनाउनुपर्ने र त्यसका लागि आवश्यक पूर्वाधार विकासका लागि महानगरपालिकाले आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले हस्तकलाका सामग्रीहरूको उत्पादन र विश्व बजारमा निर्यातका लागि सहयोग गर्ने भन्दै त्यसका लागि आवश्यक सुझाव दिन सम्बन्धित क्षेत्रका उद्योगीहरूलाई आग्रह गरे ।