काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले धेरै सोचविचार गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गरेको स्पष्टीकरण दिएको छ । आज सिन्धुलीमा आयोजित पार्टी कार्यक्रममा उनले विगतमा झैं धेरै क्रान्तिकारी हुँदा प्राप्त उपलब्धी पनि गुम्ने जोखिम देखेपछि १२ बुँदे ब्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गरेको बताए ।
अध्यक्ष प्रचण्डले देशमा गोरु गाढाको सिद्धान्त अझै कायम रहेकाले प्रतिक्रान्तिको खतरा अझै कायम नै रहेको बताए । उनले गणतन्त्र विरोधी शक्तिहरू अझै पनि संविधान उल्टाउने खेलमा रहेको बताए। एमालेका अध्यक्ष केपी ओलीतर्फ इङ्गित गर्दै उनले गणतन्त्र आउनु र गोरु गाढा चढेर अमेरिका जानु उस्तै हो भन्ने मान्छेहरू अहिले पनि जिउँदै रहेका बताए। उनीहरूले देशलाई धार्मिक अतिवादमा लगेर विदेशीको सामु सुम्पिन चाहेका आरोपसमेत लगाए।
यस्तै, प्रचण्डले चुनावका लागि गठबन्धनको मात्रै भर गरेर नबस्न कार्यकर्तालाई सुझाएका छन्। ‘गठबन्धनको भर परेर ढुक्कसँग नसुत्नुहोला । आफैं जित्ने गरी बनाइयो भने मात्रै गठबन्धन पनि कामकाजी हुन्छ । आफूले जित्ने तयारी नगरीकन गठबन्धनको भर गरियो भने भन्न सकिँदैन, त्यसकारण आफ्नो तयारी राम्रो गरौँ’, प्रचण्डले भने।
प्रचण्डले निर्वाचनलाई सामान्य नठान्न भन्दै चुनाव माओवादीले हारे संविधान, गणतन्त्र, जनयुद्धको उपलब्धि र शान्ति प्रक्रिया हार्ने खतरा रहेको बताए।