काठमाडौँ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाले नेकपा एमालेका नेता भीम रावलले एमसीसीमा दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । एमसीसी बारे भ्रम छरेर आफूलाई राष्ट्रवादी देखाउन खोजेको उनको भनाइ छ ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ‘एमाले सांसद भीम रावलका कुरा सुन्दा लाग्छ, उहाँलाई मात्रै यो देशको माया छ, अरू सबै राष्ट्रघाती । एमसीसीका बारेमा जे जस्ता भ्रम र अफवाह फैलाएर माननीय भीम रावलले आफूलाई कथित राष्ट्रवादी देखाउन खोज्नुभएको छ, यो जिम्मेवार नेताको गैरजिम्मेवारीपनको पराकाष्ठा हो ।’
नेकपा एमालेले एमसीसी कार्यान्वयनमा जोड दिने भनिरहँदा एमालेकै सांसद रावलले विरोध जनाइरहेका छन् । राणाले सरकारमा हुँदा समर्थन गरेका रावल सरकारबाट बाहिरिएपछि एमसीसीको विरोधमा उत्रिएको राणाले उल्लेख गरेका छन् ।
‘ २०७३ साल असार ३१ गतेको मन्त्रिपरिषद् बैठकले एमसीसी कार्यक्रम तयारीका लागि १ अर्ब १३ करोड रुपैयाँ सहायता लिने निर्णय गरेको थियो, जुन सरकारमा भीम रावल उपप्रधानमन्त्री तथा रक्षामन्त्री थिए । सरकारमा हुँदा एमसीसीको पैसा लिने, बाहिर आएपछि भ्रमको खेती ? माननीयको राष्ट्रवाद क्या गज्जबको ’