असोज ३० गते २०८३ || October 16, 2026

पोखरा विमान दुर्घटना : शोक छ पर्वत जिल्ला, जन्मघर पुग्नै पाइनन् प्रसिद्धी 


पिपल अनलाइन
सोमबार, माघ २ २०७९०१:०१

पोखरा विमान दुर्घटना : शोक छ पर्वत जिल्ला, जन्मघर पुग्नै पाइनन् प्रसिद्धी 

 पोखरा - आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी पर्वतका १० जनाको ज्यान गएको पुष्टि भएको छ ।    
मृतक सबैको सनाखतसमेत भइसकेको छ । दुर्घटनामा परी   कुश्मा नगरपालिका–१४ आर्थर डाँढाखर्कका नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, कुश्मा –९ का अरुण पौडेल र उनकै छोरी ११ वर्षीया प्रसिद्धी पौडेल, कुश्मा–१ पाङकी रचना काफ्ले र उनका १० महिने छोरा रिहान पौडेलको ज्यान गएको हो । 

त्यसैगरी मोदी गाउँपालिका–१ भुकताङ्लेका  विजय गुरुङ, विहादी –५ उराम पोखराका एकै परिवारका जमुना शर्मा, युवराज शर्मा, आयुर्दी शर्मा र वेबी शर्मा रहेका छन् । शर्मा परिवारमा आमा, छोरा, नाती र नातिनी एउटै विमान दुर्घनामा परेर अकल्पनीय निधन भएको हो । उनीहरु यही माघ ४ गते आफन्तको घरमा रहेको पूजामा निम्ता मान्न आएका थिए । 

दुर्घटनामा ज्यान गुमाउने कुश्मा –९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल र उनकी छोरी वर्ष ११ कि प्रसिद्धी पौडेल विद्यालय बिदा भएपछि आफन्तलाई भेटघाट गर्नका लागि आउँदै गरेको बुझिएको छ । काठमाडौँको बृहस्पति विद्याश्रममा कक्षा ५ मा पढ्ने  प्रसिद्धी जन्मघर पर्वत आउने क्रममा उनीहरू दुर्घटनामा परेका हुन् । “छोरीको स्कुल बिदा पनि भएकाले दाजुभाइ भेटौँ भनेर जन्मघर आउन लाग्नुभएको रहेछ”, अरुणका छिमेकी उपेन्द्र अधिकारीले भने, “उहाँहरूलाई लिन भाइ अरुणका भाइ केशव विमानस्थलमै पुग्नुभएको थियो ।” केशवले नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर अरुण र प्रसिद्धीको शवको पहिचान गरेका थिए । पौडेल गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा पर्वतबाट स्वतन्त्र उम्मेदवार बनेका थिए । 

दुर्घटनामा परी ज्यान गुमाएका पर्वतका सबैको पहिचान भएकाले आज आफन्तलाई शव बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # पोखरा विमान दुर्घटना : शोक छ पर्वत जिल्ला, जन्मघर पुग्नै पाइनन् प्रसिद्धी
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend