असोज ३० गते २०८३ || October 16, 2026

विमान दुर्घटना :  विमानस्थलकी टावर कन्ट्रोलर अफिसर जसले आफैँ टिकट काटेर पठाएकी थिइन् श्रीमान्, छोराछोरी र सासुलाइ


पिपल अनलाइन
सोमबार, माघ २ २०७९०३:५९

विमान दुर्घटना :  विमानस्थलकी टावर कन्ट्रोलर अफिसर जसले आफैँ टिकट काटेर पठाएकी थिइन् श्रीमान्, छोराछोरी र सासुलाइ

 पर्वत - पर्वतको विहादी गाउँपालिका वडा नं ५ की ६३ वर्षीया जमुना शर्मा विगत तीन महिनादेखि काठमाडौँमा छोरासँग बस्दै आएकी थिइन् । यही माघ ४ गते माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा बाबुआमाको चौरासी पूजामा सरिक हुनका लागि छोरा युवराजसहित नाति र नातिनीसँग उनी पोखरा फर्कंदै थिए। बाबाको जन्मघर, गाउँ घुुम्न जान पाउँदा दुवै छोराकै खुसी देखिन्थ्ये ।

    तर उनीहरुको खुसी विमानवाट झर्न नपाउँदै बिलय हुनपुग्यो । आइतबार काठमाडौँबाट पोखरा जाँदै गरेको यती एयरलाइन्सको विमान दुर्घटनामा परी ६३ वर्षीया जमुना शर्मा, उहाँको छोरा ४० वर्षीय युवराज शर्मा, नातिनी १३ वर्षीया आयुर्दी शर्मा र नाति चार वर्षीय बेवीन शर्माको निधन भएको छ ।

    लामो समयदेखी गाउँ नआएका छोरा र नाति नातिनीसँग गाउँ फर्किंदा जमुना खुसी त थिइन् नै साथै उनले माइतीमा आफ्ना आमाबुवाको चौरासी पूजामा समेत जाने योजना बनाएकी थिइन् । तर विमान दुर्घटनासँगै उहाँको सपना पनि अस्ताएको छ ।

    जमुना आधा समय काठमाडौँ छोरासँग र आधा समय गाउँमा नै बस्ने गर्थे । छोरा अन्तर्राष्ट्रिय एकीकृत विकास केन्द्र इसिमोडमा आइटी अधिृकतका रुपमा कार्यरत थिए भने बुहारी सरु शर्मा त्रिभुवन विमानस्थलमा टावर कन्ट्रोलर अफिसरका रुपमा कार्यरत रहेका उनका आफन्त विहादी गाउँपालिकाकी उपाध्यक्ष मिना तिवारीले जानकारी दिए। आफैँले टिकट काटेर श्रीमान्, छोरा, छोरी र सासूआमालाई घर पठाएकी सरुले आफूलाई सम्हाल्न नसकेर विक्षिप्त भएकी छिन् । उनी यतिबेला अस्पतालमा भर्ना भएकी छन् ।

    एकै परिवारका चार जनाको निधन भएपछि अहिले पूरै गाउँ शोकमा डुबेको छ । गाउँमा रहेका आफन्त शव पहिचान गरी अन्त्येष्टिका लागि पोखरातर्फ लागेका छन् । विमान दुर्घटनामा परी पर्वतमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शर्मा परिवारका चार जना, पर्वतको कुश्मा नगरपालिका वडा नं १४ आर्थर डाँडाखर्कका पत्रकार त्रिभुवन पौडेल, कुश्मा नगरपालिका वडा नं ९ का अरुण पौडेल र उहाँको छोरी ११ वर्षीया प्रसिद्धि पौडेल, कुश्मा नगरपालिका वडा नं १ पाङ्की रचना काफ्ले र उहाँका १० महिने छोरा रिहान पौडेल,  मोदी गाउँपालिका वडा नं १ भुकताङ्लेका  विजय गुरुङ रहेका छन् ।


  • सम्बन्धित विषय:

  • # विमान दुर्घटना स्  विमानस्थलकी टावर कन्ट्रोलर अफिसर जसले आफैँ टिकट काटेर पठाएकी थिइन् श्रीमान्, छोराछोरी र सासुलाइ
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend