असोज २९ गते २०८३ || October 15, 2026

माथिल्लो त्रिशूली-१ को नदी फर्काउने सुरुङ तयार


पिपल अनलाइन
शनिबार, फागुन २० २०७९०७:३९

माथिल्लो त्रिशूली-१ को नदी फर्काउने सुरुङ तयार

काठमाण्डौँ - प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको निर्माण १४ प्रतिशत सकिएको छ ।

२०७८ पुसबाट निर्माण शुरू गरिएको आयोजनाले अहिलेसम्म डाइभर्सन सुरुङ, भूमिगत विद्युत्गृह खन्ने काम लगायतमा प्रगति भएको जनाएको छ ।आयोजनाको बाँध लगायत संरचना ९हेडवर्क्स० निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङको निर्माण सम्पन्न भएको छ ।

रसुवाको आमाछोदिङ्मो गाउँपालिका १ हाकुमा बाँध निर्माणका लागि ४२० मिटर लम्बाइ र पाँच मिटर व्यास भएको पूर्ण कंक्रिट लाइनिङ डाइभर्सन सुरुङ निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ। सुरुङ निर्माण सम्पन्न भएपछि मंगलबारबाट सोही सुरुङबाट नदी फर्काई बाँध निर्माण शुरू गरिएको आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत ताई हक युनले बताए । 

युनले आयोजना निर्माणका लागि एउटा कोसेढुङ्गा पूरा भएको बताउँदै मुख्य तथा प्रवेश सुरुङ, टेलरेस सहित सुरुङको जम्मा लम्बाइ १३।५ किलोमिटर रहेकोमा अहिलेसम्म ४.५ किलोमिटर सम्पन्न भएको जानकारी दिए ।

आयोजनाको भूमिगत विद्युत्‌गृह खन्ने कार्य करीब २१ प्रतिशत सम्पन्न भएको छ । आयोजनाको समग्र भौतिक प्रगति १४ प्रतिशत रहेको छ। आयोजना निर्माणमा हाल करीब ७०० कामदार परिचालित छन् । तीमध्ये करीब ३०० रसुवाका स्थानीय बासिन्दा छन् । आयोजना निर्माणका लागि इन्जिनीयरिङ, खरीद र निर्माण ईपीसी मोडलमा कोरियन कम्पनी डुसानले काम गरिरहेको छ ।

उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको माथिल्लो त्रिशूली १ हालसम्मकै ठूलो जलविद्युत् आयोजना हो । आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व ब्यांक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम लगायतको शेयर लगानी छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर निर्माण अवधिको ब्याज सहित रहेको आयोजनामा नौ अन्तर्राष्ट्रिय वित्तीय संस्थाले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम स्वपूँजी इक्विटीबाट जुटाइएको छ ।


  • सम्बन्धित विषय:

  • # माथिल्लो त्रिशूली-१ को नदी फर्काउने सुरुङ तयार
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend