प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई तीन लाख राशीको पुरस्कार घोषणा गर्नुभएको छ। विजेता खेलाडीहरूलाई शुक्रवार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गर्नुभएको हो।
खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “मलाई अत्यन्त खुसी लागेको छ। हिजो तपाईँहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईँहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ। देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ। आगामी दिनमा समेत तपाईँहरूको प्रदर्शन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु।”
“विश्वकप छनोटका लागि तपाईँहरूलाई थप सफलता मिलोस्। म तपाईँहरूको सुखदुखमा साथमै हुनेछ” प्रधानमन्त्रीले भन्नुभयो, “यसअघि पनि सरकारले तपाईँहरूलाई जनही दुई लाख राशीले पुरस्कृत गरिसकिएको छ। आज म तपाईँहरूलाई जनही रू तीन लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु।”