काठमाडौं - नेपाल प्रहरीका कमल श्रेष्ठ र पार्वती गुरुङले प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् । पुरुष एकलको ३० वर्षमाथि कमल र महिला एकलको २५–३० वर्षमा पार्वतीले स्वर्ण जितेको हो। दुवै १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन् ।
नेपाल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा नेपाल आर्मीका रेजिन रिमाल दोस्रो तथा आर्मीका रामबहादुर पोखरेल र प्रवीण गुरुङ भए। महिलामा तरहराकी सुशिला राई दोस्रो तथा आर्मीकी निता गुरुङ र प्रहरीकी सीता तामाङ तेस्रो भएकी छन् । सातदोबाटोमा भएको प्रतियोगिताको एकल पुम्सेको २२–२५ वर्ष पुरुषमा लिजेन्ड्सका शिशीर श्रेष्ठ र महिलामा मुलपानीकी चन्दु शाही तथा पुरुष २५–३० वर्षमा प्रहरीका जितबहादुर बोटले स्वर्ण जिते।
ग्रुप पुम्सेको पुरुष १०–१२ वर्षमा लैनचौरका रोहन भुजेल, सुगम भुजेल र इराजसिंह ठकुरी, १२–१५ वर्षमा स्वयम्भूका त्रिजन चौधरी, समिर तामाङ र थुप्तेन तामाङ, १५–१८ वर्षमा गोदावरी फिट्नेसका श्रृजल श्रेष्ठ, सैरुस थापा र दीपक दुलाल, १८–२२ वर्षमा प्रहरीका कमल राना मगर, अस्मित राउत र राम गोले, २५–३० वर्षमा प्रहरीका प्रेमबहादुर लिम्बू, जितबहादुर बोट र अञ्जन चौधरी तथा ३० वर्षमाथि आर्मीका रेजिन रिमाल, रामकुमार पोखरेल र प्रवीण गुरुङ पहिलो भए।