काठमाडौं - आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपालले ओमानमाथि सानदार जित निकालेको छ । अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा मंगलबार राति भएको खेलमा नेपालले ओमानलाई सात विकेटले हरायो ।
अमेरिका भ्रमणमा पहिलो जित निकालेसँगै नेपाल लिगको पाँचौं स्थानमा उक्लिएको छ । नेपालले सिरिजको पहिलो खेलमा ओमानसँग हारेको बदला समेत लिएको छ । सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । नेपाल र अमेरिकाबीचको दोस्रो खेल भने टाई भएको थियो ।
ओमानले दिएको एक सय ६४ रनको विजय लक्ष्य नेपालले ३३.१ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालको जितमा आसिफ शेख र कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेले। आसिफले ६२ र कुशलले ५६ रन बनाए । दुवैको यो एकदीवसीय करियरको तेस्रो अर्धशतक हो । आसिफले लगातार दोस्रो अर्धशतक प्रहार गरेको हो ।
पहिलो विकेटका लागि आसिफ र कुशलले २३.५ ओभरमा एक सय १४ रनको शतकीय साझेदारी समेत गरेका छन् । यो एकदीवसीयमा नेपालका लागि ओपनरबाट पहिलो शतकीय साझेदारी पनि हो ।