असोज २९ गते २०८३ || October 15, 2026

चामलको मूल्य वृद्धि गरेमा कारबाही गर्ने चेतावनी


बिहीबार , साउन १८ २०८०११:४६

चामलको मूल्य वृद्धि गरेमा कारबाही गर्ने चेतावनी

पछिल्लो केही दिनयता बजारमा चामलको मूल्य महँगिएको छ । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको बहाना बनाएर व्यापारीहरूले भाउ बढाउन थालेका हुन् । बजारमा खपत हुने अधिकांश ब्रान्डका चामलको मूल्य बढेको छ । उपभोक्ता अधिकारकर्मीले व्यापारीले मौज्दात रहेको चामलकै मूल्य बढाउँदासमेत राज्यका जिम्मेवार निकाय मौन बसेको आरोप लगाउँदै आएका छन् । 

राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसिनाले भारत सरकारले लङग्रेन वा बासमती चामलबाहेक अन्य चामलको निकासीमा प्रतिबन्ध लगाएको घोषणा गरेको र प्रतिबन्धको बहानामा व्यापारीले मनलाग्दी तरिकाले चामलको मूल्य बढाएको बताएका छन्  । 
किराना पसलको अनुगमन गरेर अनुगमनको सङ्ख्या बढाउनुबाहेक अन्य उपलब्धि नहुने उनको भनाई छ ।  

यता बजार भाउ नियन्त्रण गर्ने जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही दिनदेखि उपत्यका तीनै जिल्लामा चामलको भाउको विषयमा खाद्य तथा किराना पसलमा बुझ्ने काम गरेको जनाएको छ । 

बजारमा चामलको मूल्य बढेको हल्ला आएपछि विभागले किराना र थोक व्यवसायीका छाता सङ्गठनलाई बोलाएर एक चरण छलफल गरिसकेको छ ।

राष्ट्रिय उपभोक्ता मञ्चले भारतले चामलमा लगाएको प्रतिबन्धले नेपालमा समस्या नहोस् भन्ने उद्देश्यले सरकारलाई छबुँदे सुझावसहित ज्ञापनपत्र बुझाइएको जनाएको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भारतको हालको कदमलाई ध्यानमा राखी तत्काल किसानका माग सम्बोधन गरी समर्थन मूल्यमा पुनर्विचार गर्नुपर्ने, खाद्य व्यापार कम्पनीमार्फत भारतलगायत तेस्रो मुलुकबाट अन्तर्राष्ट्रिय बजार मूल्यमा चामल आयात गरी सहज र सुपथ मूल्यमा उपभोक्तालाई पाउने व्यवस्था गर्नुपर्ने माग सरकारसँग माग गरेको छ । 

नेपाल चामल, तेल, दाल उत्पादक सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले भारतमा धानको मूल्य वृद्धि भएकाले चामलको मूल्य बढेको बताएका छन् । भारतले चामलमा लगाएको प्रतिबन्धले तत्काल नेपाली बजारमा मूल्य वृद्धि नहुने र उद्योगबाट त्यो नभएको स्पष्ट परेका छन्। 


  • सम्बन्धित विषय:

  • # चामल को भाउ


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend