नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको हो ।
अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार तोलामा २ हजार ९ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य केही घटेसँगै नेपालमा समायोजन हुँदा घटेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस करिब ४ हजार ८ सय अमेरिकी डलर छ ।
चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ५ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ९२० रुपैयाँ थियो ।