असोज ३० गते २०८३ || October 16, 2026

क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्न पाकिस्तान प्रस्थान


सोमबार, भदौ ११ २०८००४:३३

क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्न पाकिस्तान प्रस्थान

 क्रिकेटर सन्दीप लामिछाने बुधबारदेखि सुरु हुने एसिया कप क्रिकेट खेल्न सोमबार पाकिस्तान प्रस्थान गर्नुभएको छ । टोलीमा रहेपनि आइतबार मुद्दाको पेसी रहेकोले सन्दीप यसअघि टोलीसँग पाकिस्तान गएका थिएनन्। 

काठमाडौँ जिल्ला अदालतले सन्दीप विरुद्धको मुद्दा आइतबार हेर्न नभ्याइनेमा राखेपछि सन्दीप एसिया कप खेल्न पाकिस्तान गएका हुन्। 

बिदाइ कार्यक्रममा सन्दीपले एसिया कपमा विश्व नम्बर एक पाकिस्तान र भारतसँग खेल्न पाउनु नेपालका लागि ठुलो अवसर भएको बताए  । ‘‘एसिया कप हाम्रो लागि राम्रो टोलीसँग खेल्ने मौका हो । हामीले यसबाट धेरै सिक्नेछौँ । म एसिया कपमा लागि व्यक्तिगत रूपमा फिट र तयार छु । पहिलो पटक विश्व स्तरीय टोलीसँग राम्रो गर्ने प्रयास गर्नेछौँ । एसिया कपमा लागि हामीले राम्रो तयारी गरेका छौँ । आशा छ हामी वेस्ट दिनेछौँ । भविष्यमा पनि पाकिस्तान र भारतसँग खेल्ने वातावरण बनाउन आवश्यक छ,’’ सन्दीपले भने  ।

नेपाली टोली कराँचीमा एक साता तयारी गरेर आइतबार मात्र एसिया कपको उद्घाटन खेल खेल्न मुल्तान पुगेको छ । नेपालले समूहको पहिलो खेल बुधबार (अगस्ट ३०) पाकिस्तानसँग मुल्तान क्रिकेट रङ्गशालामा खेल्नेछ । 

पाकिस्तानसँग खेलेपछि नेपालले सेप्टेम्बर ४ मा भारतसँग अर्को खेल श्रीलङ्कामा खेल्नेछ । एसिया कपमा नेपाल, भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । 

समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछ । सुपर चारको शीर्ष दुई टोलीबिच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेल श्रीलङ्कामा सञ्चालन हुँदैछ । भारतले पाकिस्तान गएर खेल्न अस्वीकार गरेपछि एसिया कपका खेल पाकिस्तान र श्रीलङ्कामा हुन लागेको हो । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend