असोज ३० गते २०८३ || October 16, 2026

प्रचण्ड’को चीन भ्रमणको एजेण्डा तय भइसकेको छैन।परराष्ट्रमन्त्री साउद


बिहीबार , भदौ २१ २०८००३:४१

प्रचण्ड’को चीन भ्रमणको एजेण्डा तय  भइसकेको छैन।परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको एजेण्डा तय भइनसकेको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्नुहुँदै मन्त्री साउदले प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणको एजेण्डाको अन्तिम टुङ्गो लागि नसकेको बताउनुभएको हो ।

मन्त्री साउदले भ्रमणको एजेण्डाको सम्बन्धमा द्विपक्षबीच छलफल चलिरहेको पनि बताउनुभयो । उहाँले भ्रमणका क्रममा ठुलो लिष्ट बोकेर जाने भन्दापनि डेलिभरीयोग्य परियोजना र मुद्दाहरूलाई अगाडि बढाउने प्रस्ताव लिएर जाने जानकारी दिनुभयो ।

‘‘चीन भ्रमणलाई सफल बनाउनका लागि सरकारको सम्पूर्ण मेसिनरी क्रियाशील रहेको कुरा म जानकारी दिन चाहन्छु । हामीले ठुलो लिस्ट भन्दापनि जो डेलिभरीयोग्य छन् त्यो परियोजनाहरू, ती मुद्दाहरूलाई अगाडि बढ्ने गरेर प्रस्ताव गर्ने विचार गरिराखेका छौँ । चीन र नेपाल परम्परादेखि नै धेरै घनिष्ठ मुलुकका रूपमा रही आएका छन् ।,’’  मन्त्री साउदले भन्नुभयो, ‘‘चीन उदाउँदो आर्थिक शक्तिको रूपमा रही आएको छ । हालका दिनमा चिनले नेपाललाई विभिन्न क्षेत्रमा सहयोग अनुदान गर्दै आएको छ । यसरी अनुदान गरेका पनि कतिपय रकमहरू हामीले विनियोजन गर्न सकेका थिएनौँ त्यसमा प्राथमिकताहरू निर्धारण गरेर । त्यसमा सम्बन्धित अर्थ मन्त्रालयपनि सम्बन्धित अन्य निकायहरुपनि, परराष्ट्र मन्त्रालय पनि यसको विनियोजन हुन सकोस् भनेर गम्भीर गृहकार्यमा लागेको कुरा जानकारी गराउन चाहन्छु ।’’

मन्त्री साउदले चीनले नेपालको पूर्वाधार विकास, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा लगायत विविध क्षेत्रमा गर्ने सहयोगको विषयलाई एजेण्डा बनाउने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । सोही विषयहरूमा सम्झौता हुने तयारी भएको उहाँको भनाइ छ । यस्तै, कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरू खोल्ने विषयमा पनि छलफल चलिरहेको उहाँको भनाइ छ ।

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend