छठ पर्वका लागि मधेश प्रदेशको राजधानी जनकपुरधाममा मात्रै रू. चार करोडको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ ।
छठमा सिङ्गै केराको घरी भगवानलाई अर्घका रुपमा चढाउने परम्परा छ ।
स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनु परेको अध्यक्ष यादवको भनाइ थियो । “गत वर्ष रू. पौने दुई करोडभन्दा बढीको केरा जनकपुर भित्र्याइएको थियो”,उनले भने , “यस वर्ष झण्डै ७० ट्रक केरा भित्र्याइएका छन् ।”
जनकपुरमा गोपाल र वंशीभोग जातका केरा सप्तरी जिल्लाको भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ ।
समितिका अध्यक्ष यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार दुई सय घरी आउँछ । प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च रू. छ लाख पर्ने उनले जानकारी दिए । बजारमा प्रत्येक केराको घरीलाई रू. पाँच सयदेखि एक हजारसम्ममा बिक्री गरिन्छ ।
नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छन् । नेपालमा मालभोग, झापाली मालभोग, बिलियम हाइब्रिड रोवस्टा, बिलियम हाइब्रिडलगायत जातका केराखेती उत्पादन हुँदै आएको छ । सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ ।