असोज २९ गते २०८३ || October 15, 2026

जाजरकोटमा खाद्यान्न अभाव


शनिबार, फागुन ५ २०८०१२:२२

जाजरकोटमा खाद्यान्न अभाव

जाजरकोटका खाद्यान्न डिपोहरूमा चामल मौज्दात नहुँदा स्थानीय मर्कामा परेका छन् । जिल्लाको जुनीचाँदे गाउँपालिका–७ रजुतरा बिक्री केन्द्र चामलविहीन छ । भात खानालाई नागरिकहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रजुतरा विक्री केन्द्र तिर वेला–वेला पुग्ने गरेका छन् । 

विक्री केन्द्रमा चामल आउला भनेर आशै–आसमा बसेका नागरिकहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल पठाउन नसकेपछि निराश बनेका छन् । गत वर्ष १३ हजार क्विन्टल चामल बिक्री भएको जाजरकोटमा यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ६ हजार ५० क्विन्टल चामल स्वीकृत गरेको थियो ।  

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय, जाजरकोटका कार्यालय प्रमुख राम प्रसाद पौडेल चालु आर्थिक वर्षको हालसम्म खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जाजरकोटमा ८ सय ४० क्विन्टल मात्र चामल आपूर्ति गरेको जानकारी दिनुभएको छ । 

कार्यालय प्रमुख पौडेलले दिएको जानकारी अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्षमा बाँकेको नेपालगन्जदेखि शाखा कार्यालय जाजरकोटमा ३८० क्विन्टल र बर्दियाको राजापुरदेखि ३८० क्विन्टल १० किलो चामल आपूर्ति गरेको छ भने, बाँकेको नेपालगन्जदेखि छेडागाड नगरपालिकाको घोगी डिपोमा ८० क्विन्टल मात्र चामल आपूर्ति गरेको छ ।

त्यसै गरी कुशे गाउँपालिकाको टापु चौर विक्री केन्द्र पनि चामल छैन भने, बारेकोट गाउँपालिकाको काउली विक्री केन्द्र पनि चामलविहीन अवस्थामा रहेको छ । नायक बाडाको घाट डिपोमा १४ क्विन्टल मात्र चामल बचत रहेको छ भने, नलगाड नगरपालिकाको चौखा डिपोमा २ क्विन्टल मात्र चामल बचत रहेको कार्यालय प्रमुख पौडेलले जानकारी दिएका छन् ।

ठेक्का सम्झौता गरेका सप्लायर्सले ढुवानी नगरेर नभई, स्वीकृत भएको कोटा अनुसार ढुवानी गर्नका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सप्लायर्सलाई चामल दिन नसकेको हुँदा जाजरकोटमा चामल अभाव भएको शाखा कार्यालय, जाजरकोटले जनाएको छ । 

कार्यालयले दिएको जानकारी अनुसार जाजरकोट जिल्लामा मात्र नभएर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णाली प्रदेशका सबै जिल्लामा स्वीकृत भएको कोटा अनुसारको चामल आपूर्ति गर्न सकेको छैन ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend