मधेश प्रदेशमा लक्षित उमेर समूहका करिब २० लाख बालबालिकाका लागि दादुरा–रुवेला खोप अभियान सञ्चालन गरिने भएको छ । ‘पूर्ण खोप सुरक्षित भविष्य’ नाराका साथ फागुन १३ गतेदेखि चैत ७ गतेसम्म सञ्चालन हुने अभियानमा प्रदेशका १९ लाख ४७ हजार १४२ जना बालबालिकालाई खोप लगाउने तयारी गरिएको मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार खोप लगाइने लक्षित उमेर समूहमा ९ महिनादेखि ५ वर्ष उमेरका ५ लाख ६० हजार २२ तथा ५ देखि १५ वर्ष उमेरका १३ लाख ८७ हजार १२० बालबालिका छन् ।
अभियानअन्तर्गत ८ वटै जिल्लाका १३६ स्थानीय तहमा ११ हजार ३४६ खोप केन्द्र निर्धारण गरिएको मधेश प्रदेशका स्वास्थ्य निर्देशक डा राजीव झाले बताउनुभयो । खोप अभियानलाई सहज, सुलभ र प्रभावकारी ढङ्गमा सञ्चालन गर्न प्रदेशभर खोप कार्यकर्ता तथा स्वयंसेवक गरी ३१ हजार १६८ जना जनशक्ति परिचालन गरिएको छ ।
यसअघि एक हजार ५३० जना स्वास्थ्य संस्था प्रमुखहरूलाई योजना तर्जुमा गोष्ठिमार्फत् निर्देशनालयले सङ्क्रामक एवम् प्राणघातक रोग दादुरा–रुवेला विरुद्ध खोपको आवश्यकता, महत्त्व र समुदायमा निर्वाह गर्नु पर्ने भूमिकाबारे प्रशिक्षण दिएको थियो ।
स्थानीय तहहरूले पनि कुनै बालबालिका दादुरा–रुवेलाको जोखिममा नपरून् भनी खोप अभियान सञ्चालनमा जुटेको दाबी गरेका छन् । भौगोलिक दृष्टिले महोत्तरीकै सबैभन्दा ठुलो बर्दिबास नगरपालिकाले चैत १३ गते सञ्चालन हुने अभियानमा लक्षित उमेरका २४ हजार बालबालिकालाई खोप लगाउने तयारी गरेको जनाएको छ ।