हङकङसँगको अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नेपाल ७३ रनले पराजित भएको छ । मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा शनिबार जितका लागि घरेलु टोली हङकङले दिएको दुई सय १३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३९ रनमा समेटिएको थियो ।
नेपालले हङकङमै आइतबार देखि सुरु हुनो त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अघि घरेलु टोली हङकङसँग फ्रेन्डसिप कप खेलेको हो । हङकङ, नेपाल र पीएनजीसम्मिलित सिरिज आइतबार देखि सुरु हुनेछ ।
सिरिजको पहिलो खेलमा नेपालले आइतबार हङकङसँग खेल्नेछ । नेपाली टोलीले आगामी जुनमा आयोजना हुने आइसिसी टी–२० विश्वकप तयारीका लागि टी–२० सिरिज खेल्न लागेको हो ।