महिलामाथी भइरहेका शाररिक तथा मानसिक हिंसा न्यूनिकरणको लागि महिलाहरु आर्थिक रुपमा शशक्त हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । समय अनुसार आवश्यक सीप, ज्ञान र अध्ययनलाइ निरन्तरता दिनसके महिलामाथी भइरहेको हिंसा पनि कम गर्न सकिने उनीहरुले बताएका हुन् ।
आज नेशनल सोलुसन एण्ड रिसर्च सेन्टरले गरेको कार्यक्रममा सोसल वर्क एसोसियसन अफ नेपाका अध्यक्ष सुक्रिता राइ बस्नेतले नेपाली समाजको संरचनामा नै पुरुषहरु हावी भइरहेकाले उनीहरु आफ्नो काममा भनेजसरी अघि बढ्न नसकेको बताउनुभयो । घरदेखि कार्यालय सम्मका निर्णयहरुमा पुरुषहरुकै अग्रसर देखिने गरेको बताउँदै उहाँले यसलाइ चिर्न महिलाहरु आफैं पनि सक्रिय रुपमा लाग्नुपर्ने बताउनुभयो । बिस्तारै परिवर्तन पनि हुन थालेको उहाँले यसको लागि युवाहरुको भूमिका अझै महत्वपूर्ण हुने धारणा राख्नुभयो ।
यस्तै अधिवक्ता प्रीति रमनले अझै पनि महिलाहरु निर्णायक तहमा पुग्न नसक्नु दुःखद भएको बताउनुभयो । अहिले समय फेरिएको छ, कानुनहरु छ तर पनि महिलाहरुले कानुन प्रदत्त अधिकार समेत उपयोग गर्न पाइरहेका छैनन्, जुन दुःखद हो – उहाँले भन्नुभयो । अब कानुनको आडमा रहेर आफ्नो अधिकारहरु खोज्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो ।
यस्तै, सिनिएर सब इन्सपेक्टर बसन्ता घिमिरेले अझै पनि उपल्लो तहमा नै पुगेका महिलाहरुले समेत कुनै न कुनै हिसाबले विभेद भोग्नु परेको सुनाउँदै यसलाइ न्युनिकरण गर्दै अघि बढ्नको लागि महिलाहरु आफैं पनि तत्पर भएर लाग्नुपर्नेमा जोड दिनुभयो । समाज शिक्षित हुँदै गइरहेको यो समयमा पनि घरेलु हिंसाको अवस्थामा कमि नआउनु दुःख भएको भन्दै उहाँले कसैले पनि हिंसा सहेर बस्न भने नहुने धारणा राख्नुभयो ।
यस्तै समाजसेवी सुगिता शाहले अध्ययनलाइ बढाउने तथा आफ्नो उदेश्यमा केन्द्रीत भएर अगाडी बढ्न सके महिलाहरुले भोग्नु परेको समस्या कम गर्दै लैजान सकिने बताउनुभयो । मुख्य त आफ्नो ज्ञानको दायरा बढाउँदै आफ्नो उदेश्यमा केन्द्रीत हुन सके अवसरहरु पाइने र त्यसले महिला शशक्तिकरण बढाउने उहाँको भनाइ छ ।
कार्यक्रममा मदर सिस्टर नेपालका अध्यक्ष मीना थापाले सीपमुलक तालिम लिने, सोही अनुसारको आम्दानीमूलक काम गर्ने गर्दै अघि बढ्न सके महिलाहरु स्वतन्त्र जीवन बिताउन सक्षम हुने धारणा राख्नुभयो । महिलाहरु सक्षम हुँदाहुँदै पनि जिम्मेवारी बाँडफाँडमा बराबरी गरिदैंन यसलाइ परिवर्तन गर्न जरुरी छ, जसका लागि महिलाहरु आफैं अग्रसर बन्नुपर्छ –थापाले भन्नुभयो ।
पत्रकार शोबिता रिसालले आर्थिक रुपमा सक्षम भएपछि मात्रै महिला शशक्तिकरण संभव हुने भन्दै पहिले आर्थिक सक्षमता हाँसिल गर्ने गरि काम गर्न सुझाब दिनुभयो । आफ्नो लक्ष्य पहिचान गर्ने र त्यसलाइ पूरा गर्न निरन्तर लागिरहने गरे मात्रै सफलता संभव छ, त्यसको लागि आर्थिक सक्षमता र सहनशिलता चाहिन्छ उहाँले भन्नुभयो ।
लेक्चरर रश्मि पौडेलले आफ्नो लक्ष्यमा निरन्तर लाग्न सके सफलता हाँसिल गर्न सकिने र त्यसले आर्थिक सक्षमता निर्माण गर्ने बताउनुभयो । आफ्नो रुचीको बिषयमा अध्ययन, अनुसन्धान गर्ने तथा शिक्षालाइ निरन्तर रुपमा अघि बढाउन उहाँले सुझाब दिनुभयो ।
नेशनल सलुसन एन्ड रिसर्च सेन्टरले विभिन्न सामाजिक बिषयमा बहसमुलक छलफलको शृङ्खला चलाउँदै आएको प्रमुख सञ्चालक पवन पौडेलले जानकरी दिनुभयो । 