आइसिसी टी–२० विश्वकप अन्तर्गत नेपालको दोस्रो तथा अन्तिम ‘वार्मअप’ खेल भारी वर्षाका कारण रद्द भएको छ ।
अमेरिकाको टेक्सासस्थित डालासको ग्रान्ड प्रिएरी मैदानमा बिहीबार तय भएको खेल लगातार वर्षा भएपछि रद्द भएको हो ।
घरेलु टोलीले टस जितेर पहिले ब्याटिङ रोज्नासाथ भारी वर्षा सुरु भएको थियो । नेपालका लागि विश्वकप अघि यो नै अन्तिम अभ्यास खेल थियो ।
विश्वकपअघि आइसिसीले तय गरिदिएको पहिलो ‘वार्मअप’ खेलमा भने नेपाल क्यानडासँग ६३ रनले पराजित भएको थियो । वर्षाका कारण बिहीबार अमेरिकासँगको खेल रद्द भएपछि नेपाली टोलीले मस्ट्याङ क्रिकेट एकेडेमीको इन्डोर हलमा अभ्यास गरेको थियो ।
नेपालले अब सिधै विश्वकप खेल्नेछ । नेपालले डालासमै नेदरल्यान्ड्ससँग जेठ २२ गते खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।
२० टोलीको सहभागिता रहने विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् ।
नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको टी–२० विश्वकप खेलेको थियो ।