मधेशको जीवनरेखा भनेर चिनिएको हुलाकी सडकमा पर्ने कमला नदीको पुल भासिएको तीन वर्षभन्दा बढी समय भएको छ । पुल निर्माण सम्पन्न भएर उद्घाटन हुने अवस्थामा पुगेपछि पुल भासिएपछि स्थानीयको आशा निराशामा परिणत भएको छ ।
कमला नदीको वारी सिराहामा पूर्वतिर बस्ने बस्ती रहेका छ । पारी पश्चिम धनुषामा खेत रहेका किसानलाई बढी समस्या भएको छ । कमला पुलमा जोडिएको बासबाट आवत–जावत गरेर गाईबस्तुका लागि घाँस ल्याउने गरेको महिला–पुरुषले आफ्नो पीडा सुनाउने गरेका छन् ।
चार बिघा जमिन कमला नदीको पारी धनुषा कमला नगरपालिकामा पर्छ । बस्ने घर मात्र वारी सिराहा नगरपालिकामा छ । गाईबस्तुका लागि घाँस र खेतीपातीको कामका लागि पारी जानैपर्छ । खोलामा असारदेखि असोजसम्म बाढीको कारण तर्न सक्दैनौँ । यो पीडा रामकुमारी यादवको मात्र होइन, बसबिटा गाउँका अधिकांश किसानको यही पीडा छ ।
चार सय ७० मिटर लामो ११ मिटर चौडाइ र साढे तीन वर्षभित्रै सम्पन्न गर्नेगरी २०६८ साल मङ्सिरमा २४ करोड ९१ लाखमा पप्पु विल्डर्स कन्स्ट्रक्सने ठेक्का लिएको थियो । पटक पटक म्याद थप्दा पनि पुल निर्माणको काम अघि बढेको छैन ।
काम सम्पन्न नभएपछि पप्पु कन्सट्रक्शनबाट ठेक्का तोडेर २०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्ट्रकशनले सम्झौता गरेको थियो । २०७८ असार १३ गतेभित्र सम्पन्न गर्नेगरी भएको सम्झौताअनुसार काम अघि बढेको थियो । काम सम्पन्न भएर उद्घाटन गर्न तयारी भइरहेको अवस्थामा २०७८ असार १७ गते आएको बाढीले पुलमा असर गरेको थियो ।
पुल सञ्चालनमा नआउँदा सिराहाका स्थानीय मधेश प्रदेशको राजधानी जनकपुर आधा घण्टाको बाटो दुई घण्टा लगाएर जानुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।